०६ असार २०८३, शनिबार

तलब नदिएको भन्दै नागरिक दैनिकको कार्यालयमा जिल्ला संवाददाताको अनसन, पत्रकार महासंघको ऐक्यबद्धता

तलब नदिएको भन्दै नागरिक दैनिकको कार्यालयमा जिल्ला संवाददाताको अनसन, पत्रकार महासंघको ऐक्यबद्धता

जिल्ला संवाददाता तथा स्ट्रीन्जरहरूलाई तीन वर्षदेखि पारिश्रमिक नदिएको भन्दै नागरिक दैनिकका जिल्ला संवाददाताहरु अनसनमा बसेका छन् । जिल्ला संवाददाताहरुले बुधवारदेखि नागरिक पत्रिकाको कार्यालय सुन्धारामा अनशन शुरु गरेका हुन् । 

जिल्ला संवाददाताको अनसनप्रति नेपाल पत्रकार महासंघले ऐक्यबद्धता जनाएको छ । बुधवार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीले पत्रकारहरुको अनसनमा ऐक्यबद्धता जनाएका छन् । बिहीवार जन्मदेव जैशी लगायतका पत्रकारले ऐक्यबद्धता जनाएका थिए । 

महासंघका महासचिव पुरीले बुधवार एक विज्ञप्ति प्रकाशित गरी नागरिक दैनिकमा कार्यरत झण्डै ३ दर्जन जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरूलाई व्यवस्थापन पक्षबाट झण्डै ३ वर्षदेखिको पारिश्रमिक उपलब्ध नगराएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

‘एउटा प्रतिष्ठित मिडिया हाउसबाट लामो समयदेखि पत्रकारहरूलाई काम लगाएर पारिश्रमिक उपलब्ध नगराउनु दुःखद् पक्ष हुनुका साथै श्रमजीवी पत्रकार ऐन विपरीत हुने महासंघको ठहर छ ।

महासंघ श्रमजीवी पत्रकार ऐन अनुसारको सबै सेवा–सुविधासहित अनसनरत पत्रकारहरूको बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन पत्रिका व्यवस्थापन पक्षसँग माग गर्दछ । अन्यथा महासंघ यसविरुद्ध दबाबमूलक संघर्षका कार्यक्रममा उत्रन बाध्य हुने चेतावनी दिन चाहन्छ’ पुरीले विज्ञप्तिमा भनेका छन् । 

कमेन्ट गर्नुहोस्