
काठमाडौं, २८ जेठ — साउदी अधिकारीहरूले कतारीहलाई मक्काको विशाल मस्जिद प्रवेश गर्न नदिएको दोहास्थित अल शार्क पत्रिकाले लेखेको छ । खाडीमा कूटनीतिक संकट चर्किंदै जाँदा यस्तो कदम उठाइएको हो ।

कतारको राष्ट्रिय मानवअधिकार आयोगले कतारी नागरिकबाट मक्कास्थित मस्जिद अल–हराममा प्रवेश गर्न रोक लगाइएको उजुरी प्राप्त गरेको थियो ।
आयोगप्रमुख अली बिन स्मेख अल–मार्री यसरी मस्जिद प्रवेश गर्न नदिनु धार्मिक अधिकारको उल्लंघन भएको बताउँछन् । उक्त अधिकार मानवअधिकारसम्बन्धी महासन्धिहरूले सुनिश्चित गरेको उनको भनाइ छ ।
साउदी अधिकारीहरूले सामान्यतया विशाल मस्जिद प्रवेश गर्ने व्यक्तिको जातीयता वा क्षेत्रीयताका बारेमा प्रश्न गर्दैनन् ।
तर साउदी अरब र खाडीका अन्य केही मुलुकले कतारमाथि आतंकवादलाई प्रश्रय गरेको आरोप लगाउँदै कूटनीतिक सम्बन्ध विच्छेद गर्दै नाकाबन्दी लगाएपछि धार्मिक अधिकारमाथि समेत हस्तक्षेप गरेका छन् ।
अल जजीराबाट