
प्रतिनिधि सभाको रिक्त उपसभामुख पदमा जनता समाजवादी पार्टी (जसपा)ले दाबी गरेको छ ।
जसपाले ५ मन्त्रालय, राज्यमन्त्री र संसदीय समितिको सभापतिमा पनि दाबी गरेको स्रोतले बतायो ।
प्रतिनिधि सभाको उपसभामुख पद लामो समयदेखि रिक्त छ । संवैधानिक परिषद्को सदस्य समेत रहने भएकाले उपसभामुख पदमा कांग्रेसले पनि दाबी गर्दै आइरहेको छ ।
आइतवार बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुखमा जसपाको दाबी रहेको बताएका थिए ।
जसपाको महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराउन प्रयास गरिए पनि उनीहरू सरकारमा सहभागी हुन इच्छुक नदेखिएको ब्रिफिङ पनि प्रचण्डले गरेका थिए ।
डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा गरेपछि प्रतिनिधि सभा उपसभामुखविहीन छ । सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ ।
उपेन्द्र यादव पक्षले पार्टीभित्रको सन्तुलन मिलाउन भन्दै संसदीय समितिको सभापतिमा पनि दाबी गरेको स्रोतले बतायो ।
यसअघि तत्कालीन नेकपा क्रियाशील रहेको समयमा संसदीय समितिको सभापति निर्वाचित गरिएको थियो ।
सरकार परिवर्तनसँगै संसदीय समितिको नेतृत्व परिवर्तन गर्नेबारे गठबन्धनमा छलफल शुरू भएको छ । यसअघि कांग्रेसले सम्हालेको सार्वजनिक लेखा समिति अब प्रतिपक्षी दलले पाउने छ ।
लेखा समितिको सभापति प्रतिपक्षलाई दिने संसदीय परम्परा रही आएको छ । नेकपा एमालेका सांसद सभापति रहेको संसदीय समितिमा नेतृत्व परिवर्तन गर्ने गठबन्धनको तयारी छ ।