
देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ ।
प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको हो ।
प्याजेक अन्तर्गत असार मसान्तसम्ममा ९४.४४ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान भइसकेको छ ।
१८ प्याकेजमध्ये १५ प्याकेजअन्तर्गत ६० जिल्लाका तोकिएका स्थानमा १०० प्रतिशत तथा २ प्याकेज अन्तर्गत १० जिल्लामा ५० प्रतिशतभन्दा बढी स्थानमा इन्टरनेट जडान गरिएको छ ।
४ जिल्लाका तोकिएका स्थानमा सञ्जाल विस्तारका लागि सेवा प्रदायक छनोट भई निर्माण कार्य भइरहेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
उनका अनुसार १८ वटा प्याकेजका १५ हजार ९८२ स्थानमध्ये हालसम्म १४ हजार २१८ स्थानमा इन्टरनेट जडान भइसकेको छ भने १ हजार ७६४ स्थानमा इन्टरनेट जडान गर्न बाँकी छ । ७०२ स्थानीय निकायमध्ये असार मसान्तसम्म ६६३ स्थानमा इन्टरनेट जडान भइसकेको र ३९ स्थानीय तहमा जडान भइरहेको छ ।
५ हजार ९३३ वडा कार्यालयमध्ये हालसम्म ५ हजार २६४ स्थान, ५ हजार २२५ माध्यमिक विद्यालयमध्ये ४ हजार ६४० विद्यालय र ४ हजार १२२ स्वास्थ्य संस्थामध्ये ३ हजार ६५१ संस्थामा इन्टरनेट जडान भइसकेकोे छ ।
सम्पन्न भइसकेका परियोजनामध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइसकेको, २ परियोजनाको प्राधिकणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको र २ परियोजनाको दोस्रोचरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको छ ।
कूल ५ अर्ब २६ करोड ९७ लाख ७० हजार रकममध्ये हालसम्म ३ अर्ब ३८ करोड ८७ लाख ब्रोडब्याण्ड परियोजनाका लागि सेवा प्रदायकलाई भुक्तानी गरिएको प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार परियोजना अन्तर्गत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो ।
परियोजनामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई समेटिएको छैन ।