१० असार २०८३, बुधबार

निर्णय भएको डेढ वर्षसम्म पनि गाभिएनन् विद्यालय

साउन १९, २०७८
निर्णय भएको डेढ वर्षसम्म पनि गाभिएनन् विद्यालय
प्रतिकात्मक तस्वीर

गुल्मीमा निर्णय भएको डेढ वर्षसम्म पनि विद्यालय गाभिन सकेका छैनन् ।

जिल्लाको मालिका गाउँपालिका–८ मर्भुङ सिमलटारीस्थित सिभिल इङ्लिस बोर्डिङ स्कूल र मालिका माध्यमिक विद्यालय गाभिन नसकेका हुन् । 

मालिकामा एकै प्रकारको शिक्षा लागू गर्ने उद्देश्यले विक्रम संवत् २०७६ सालबाट २ विद्यालय गाभिने चर्चा चलेको थियो । त्यसको झण्डै १ वर्षपछि २०७७ माघ २० गते २ विद्यालयको बीचमा गाभिएको सम्झौता भएको थियो ।

बोर्डिङ स्कूलको भवन र जग्गाको मूल्यांकन गरी १ करोड १० लाख मालिका माविले बोर्डिङलाई दिने सम्झौता भयो । जसमध्ये ४० लाख रुपैयाँ तत्कालै दिने र त्यसपछि विभिन्न किस्तामा गरी ५० लाख रुपैयाँ दिने सहमति भयो ।

प्रदेश वा केन्द्रबाट नमूना विद्यालयका लागि पहल गर्ने र बजेट विनियोजन भए त्यसबाट २० लाख रुपैयाँ दिने सहमति भयो । मर्ज भइसकेपछि बोर्डिङ स्कूलको भवनमा ५ कक्षासम्म सरकारीस्तरबाटै अंग्रेजी शिक्षा सञ्चालन गर्ने र मालिका माविमा नेपाली माध्यमबाट कक्षा सञ्चालन गर्ने निर्णय भएको थियो । 

तर अहिलेसम्म मालिका माविले सिभिल इङ्लिस बोर्डिङ स्कूललाई १ रुपैयाँ पनि दिएको छैन भने विद्यालयमा अंग्रेजी शिक्षा पनि सञ्चालन भएको छैन । बोर्डिङ स्कूल सञ्चालक समिति अध्यक्ष सूर्यबहादुर जिसीले सम्झौतालाई मालिका माविले बेवास्ता गर्दा मर्जको काम अगाडि बढ्न नसकेको बताए ।

निर्णयले अहिले अभिभावकले आफ्ना बालबच्चा कहाँ पढाउने भनेर अलमलमा परेको उनले बताए । उनले सम्झौताअनुसार रकम दिई विद्यालय मर्जको काम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

मालिका माविले सञ्चालन गरेको धार्मिक महायज्ञबाट संकलित रकममध्येबाट बोर्डिङलाई रकम दिएर गाभ्ने निर्णय गरेको थियो । निर्णयको केही अभिभावकले विरोध गरेका कारण विद्यालय मर्जको काम अगाडि नबढेको प्रध्यानाध्यापक हेमराज पौड्यालले बताए । उनले निर्णय गरिसकेपछि आफूहरूलाई बोर्डिङ स्कूलका पदाधिकारीसँग मिलेमतो गरेको आरोप आएका कारण पनि मर्जको काम अगाडि बढाउन नसकिएको पौड्यालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्