
अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद समाधानका लागि सात सदस्यीय विवाद समाधान छानबिन समिति गठन गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिको बैठकले राखेप सदस्य पुरेन्द्रबिक्रम लाखेको संयोजकत्वमा सो समिति गठन गरेको हो । समितिको सचिवमा संघसंस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल रहेका छन् ।
समिति सदस्यहरूमा परिषद् सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बिक र कानुन शाखाका प्रमुख नारायणराज अर्याल सदस्य छन् ।
राखेपका निमित्त सदस्य सचिव एकेन्द्र कुँवरले नवगठित समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले सोमवार एन्फाको विवाद समाधानका लागि छानबिन समिति गठन गर्न राखेपलाई पत्राचार गरेको थियो ।