दार्जिलिङ, २९ जेठ– गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्याण्ड राज्य नपाउदासम्म आफूहरुको आन्दोलन नरोकिने बताएका छन् । पश्चिम बंगालअन्तर्गत रहेको नेपालीभाषीको बाहुल्यता रहेको पहाडी क्षेत्रमासमेत अनिवार्य रुपमा १० कक्षासम्म बंगाली भाषा पढ्नुपर्ने व्यवस्था गरेपछि मोर्चाको नेतृत्वमा पुनः आन्दोलन सुरु भएको हो ।

सो आन्दोलनमाथि प्रहरी दमन हुनुका साथै आन्दोलन दबाउन सेना परिचालन गरिएपछि त्यसले गोर्खाल्याण्ड आन्दोलनको रुप लिएको हो । गोर्खा जनमुक्ति मोर्चाले सन् २००७ देखि नै छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै आएको छ । भारतीय पत्रिका ‘द इन्डियन एक्सप्रेस’ लाई दिएको अन्तर्वार्तामा उनले आफूहरुले यसअघि देखि नै अलग्गै गोर्खाल्याण्ड मागिरहेको र यो आन्दोलन निर्णायक बनाउने बताएका छन् ।
यसअघि मोर्चाले गरेको आन्दोलनपछि नेपाली भाषीका माग सम्बोधन गर्न भन्दै गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जेटीए) गठन गरिएको थियो । अहिले आएर नेपालीभाषिमाथि समेत बंगाली भाषा थोपर्न खोजेपछि आफूहरु बाध्य भएर आन्दोलनमा जानुपरेको गुरुङको भनाई छ, राजधानीले खबर छापेको छ ।