
अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजस्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् ।
राजस्व सचिव रामशरण पुडासैनीको बिदाइ समारोहलाई शुक्रवार सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
‘राजस्व भनेको जनताको पसिनाको थोपा थोपाको संग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ,’ उनले भने ।
मन्त्री शर्माले राज्यका हरेक नीतिहरू निरन्तर सुधारको प्रक्रियामा रहेको भएता पनि आफूले निरन्तर सुधारभित्र गुणात्मक सुधार चाहेको बताए । ‘निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ । निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ । यथास्थितिवादी नीतिले परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न सक्दैन,’ मन्त्री शर्माले थपे, ‘मैले गुणात्मक सुधारका लागि काम गर्ने हो । यो काम हचुवाको भरमा गर्ने होइन । गहन अध्ययन विश्लेषण गरेरै गर्ने हो तर गर्ने हो ।’
अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुन लागेका राजस्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताए ।
अर्थ सचिव मधुकुमार मरासिनीले सेवा निवृत्त हुन लाग्नु भएका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै विनाकुनै दाग बिदाइ हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गरे ।
उनले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममुखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।