

फिल्म कलेजबाट ग्र्याजुएसन गरिसकेपछी शब्दमा पढेको कुरालाई चित्रमा कैद गर्ने इच्छा बढ्दै गयो । मानव र मेरो काम गर्ने शैलीमा एकरुपता देखियो । त्यसै कारणले हामिले हाम्रो देशको प्रकृति र सुन्दर भूगोल भित्र आफ्नै जीवनशैलीमा आफ्नै अर्ग्यानिक शब्दहरु र चित्रहरुमार्फत देशलाई देशैभित्र र बाहिर चिनाउने उद्देश्यका साथ सुदुरपश्चिम कर्णाली पारीका थारु बस्तीबाट शुरु गरियो । जस्ताको त्यस्तै मान्छेहरु र उनिहरुको जीवनलाई निकट ल्याएर डकुमेन्ट्री शुट गर्न शुरु गरियो । पूर्व देखि पश्चिम सम्म घुमेर जनताको हाँसो र दुख कैद गर्ने हाम्रो सपना सुदुरपश्चिमबाट शुरु भएको थियो ।
यात्राको भिडियो निर्माण संगै देशलाई आफ्नै देश देखाउने हाम्रो अभियानको रुपमा शुरु भएको हाम्रो यात्राको क्रममा बनाइएका डकुमेन्ट्रीहरुलाई देशभरीका मान्छेहरुले रुचाइदिनु भएको छ । त्यसले हामिलाई बरम्बार यस्तै नियात्रा चलचित्र बनाउने उत्साह जगाइदिएको छ । हामिले 'साझा मान्छे' नामक एउटा भिडियो पनि निर्माण गर्यौं । साझा मान्छे नामक डकुमेन्ट्री चलचित्रमा हामिले किसानको खेतखेतमा गएर उनिहरुको काम संगै धेरै तितामिठा यथार्थहरु बुझ्ने मौका पायौं । त्यो थियो, कसैको छोरा मलेसिया, कसैको छोरा दुबई, कसैको भारतमा रोजगारीको लागि गएको र त्यसैको कारणले खेती किसानी पनि सुक्दै गएको उनिहरुको आफ्नै प्रस्तुती र भाषामा हामिले उतार्ने मौका पायौं ।

लुम्बिनी, पोखरा अनि बन्दीपुरका सुन्दर दृश्यलाई यात्राको क्रममा कैद गर्दै गएर हामिले आन्तरिक पर्यटन प्रबर्द्धनका लागि पनि हौसला र प्रोत्साहन दिएका छौं । आम जनता, किसान लगायतका कुराहरुसंगै पर्यटनलाई प्रबर्द्धन गर्ने कुरा एउटै सानो भिडियोमार्फत दिन पाउँदा हामी खुसी भएका थियौं । यसरी हामिले 'साझा मान्छे' नामको सानो चलचित्रमार्फत देशलाई चिनाउने सानो प्रयासको दर्शकले धेरै सराहाना गर्नुभएको छ ।

हामी भिडियो निर्माणकै क्रममा विभिन्न ठाउंमा डुलिरहँदा देशले छ महिना लामो नाकाबन्दी खेपेको थियो । हामिले त्यसलाई टुलु टुलु हेर्न सकेनौं र क्यामेरा बोकेर आम मान्छेका पिडाहरुलाई बाहिर ल्याउने प्रयाससमेत गर्यौं । 'यहाँ लुट्नेले देश लुटेकै छन' भन्ने शीर्षकको भिडियो पनि निर्माण गर्यौं । जसलाई नाकाबन्दीको बिरोधस्वरुप युट्युबमा अपलोड गर्यौं । त्यसलाई पनि धेरै दर्शकहरुले सिरियस्ली लिनु भयो । त्यसपछी वसन्त चौधरीले हमिलाई भेट्न खोज्नुभयो र हामिले वहाँसंग एउटा प्रस्ताव सहित भेट्ने मौका मिलायौं ।

वसन्त चौधरीसंग हामिले गरेको प्रस्ताव अनुसार हामिले पूर्व देखि पश्चिमसम्म घुमेर चौधरी ग्रुपको 'सिजी इन्टरटेनमेन्ट' र 'क्यान्डेला पिक्चर्स'को सहकार्यमा हामी पुरै देश निस्क्यौं । हाम्रो आत्मविश्वासलाई वहाँले छोटो समयमा महसुस गर्नु भयो, फलस्वरूप वहाँसंगै काम गर्दै हामिले यो गीतिभिडियो सहज तरिकाले बनाउन सक्यौं । जम्मा जम्मी आठ महिना लगाएर गरिएको मेहेनेतको रुपमा हामिले 'निधारमा नाम्लो' नामको एउटा गीतिभिडियो बनाउन सफल भयौं । त्यसमा नेपालको सबै सांस्कृतिक भेषभुषा र सबै जातिय पहिचान झल्किने गरेर काम गरेका थियौं । गाउँ गाउँका कलाकेन्द्रहरुका कलाकारहरुको साथ हाम्रो लागि अति नै महत्वपूर्ण थियो । मान्छेका साझा अनुहारहरुलाई कलात्मक ढंगबाट भिडियोको रुपमा प्रस्तुत गर्ने हाम्रो जमर्कोमा पूर्वको राई लिम्बू, चितवनको थारु, काठमाडौंको नेवार संस्कृति देखि लिएर मुस्ताङको सुन्दर दृष्यसंगै धेरै दुर्गम स्कुलका नानीबाबुहरुलाई त्यस भिडियोमा कैद गर्न सफल भएका थियौं । त्यस फ्रेममा हामिले सुदुर पश्चिमका डडेलधुरा र डोटीमा नाचिने 'चलिया' र 'हुड्की' नाचलाई पनि समेटेका थियौं ।
हामिले हाम्रो सुन्दर देश त आफ्नै आँखाले देख्यौ देख्यौं साथसाथै नकारात्मक पाटाहरुलाई पनि नियाल्ने मौका पायौं । अस्वस्थ राजनीतिले निम्त्याएको द्वन्द्वको झझल्कोलाई पनि हामिले नजिकबाट नियालेका थियौं । दशबर्षे सशस्त्र द्वन्द्वले बनाएका घाउका खाटाहरु प्रशस्त देखिन्थे । त्यसले कतिपय ठाउँमा आजको दिनमा पनि पीडा देखिएको छ । हामिले हाम्रो काम कसैको बिरोधको लागि गरेका होइनौं, देशका नदेखिएका कुना काप्चाहरुलाई कलात्मक ढंगले बाहिर सबैसामु ल्याउन गरेको हाम्रो मेहेनेत हाम्रो दृष्टिकोणमा सफल भएको छ ।
देशका आशालाग्दा युवाहरु बिदेशिने क्रमसंगै त्यसले गाउँगाउँमा निम्त्याएका दुखका सन्नाटाहरुलाई नजिकबाट नियाल्ने प्रयास गर्यौं । गाउँमा श्रम गर्ने श्रमशक्तीको अभाव संगै धेरै जसो गाउँहरुलाई बृद्दाश्रम जस्तै बनाइदिएको यथार्थ एकदमै पिडादायी थियो हाम्रो लागि । हामिले पायौं कि देश हामिले सोचेजस्तो सहज तरिकाले अघि बढिरहेको छैन । पिडाका घाउहरुमा लगाउने मल्हमको अभाव छ । यसले हामिलाई मात्र होइन, राज्यशक्तिमा रहेका नेता र कर्मचारीहरुलाई पनि एकपटक सोच्न बाध्य तुल्याइदिएको छ ।
धेरै ठाउँमा हामिले न्यानो माया पायौं र सहयोग पनि पायौं । आम जनताले देखाएको त्यो माया र सद्भाव हाम्रो लागि सँधै उत्प्रेरणाको बिषय बन्नेछ । तर कतिपय ठाउँहरुमा हामिले नमिठो अनुभव पनि भोग्नु पर्यो । "हाम्रो फोटो खिचेर तपाईहरुले पैसा कमाउनुहुन्छ, आफ्नो प्रचार गर्नुहुन्छ, हाम्रो पिडालाई तपाईहरुले मजाक बनाएर बजारमा बेच्नुहुन्छ" भनेर कतिपय ठाउँमा हामिलाई दृष्य कैद गर्न दिइएन । त्यो हाम्रो लागि कहिल्यै नबिर्सने तितो यथार्थ बन्यो । त्यो भिडियो निर्माणको क्रममा हामी धेरैजसो आम मानिसको घरमा बसेका थियौं । आफ्नै परिवार जस्तो गरेर देशभरका कुनाकाप्चाका मान्छेहरुलाई महसुस गर्ने कुरा हाम्रो लागि सपनाको अनुभव जस्तै भयो ।
कतिपय ठाउँमा गरिबीको कारणले मानिसहरुलाई दुई छाक खान पनि धौ धौ परिरहेको देखेपछि हामिलाई लाग्यो, काठमाडौंका महंगा होटेलहरुमा बसेर देशबिकासको खाका कोर्नेहरु सतहमा मात्र घुमिरहेका छन, देशको कुनाकाप्चामा पुगेका छैनन । त्यस्ता ठाउँमा हाम्रो क्षमताले भ्याएसम्म आर्थिक सहयोग गरेर पनि हिँडियो ।
हामीसंग एउटा सम्झना छ, हामी झापा जिल्लाको सुगाबथान भन्ने ठाउँमा सन्थाल जातिको सिकार गर्ने शैलीलाई कैद गर्न भनेर त्यहाँ पुगेका थियौं । सानो सानो खरको छाप्रोमा बस्ने उक्त समुदायको अवस्था साह्रै दयनिय रहेको देख्यौं । सुत्ने ठाउँको अभावमा हामी त्यो रात गोठमा गाई भैंसीसंगै एउटा सानो खाटमा सुतेका थियौं ।
डकुमेन्ट्री फिल्म मेकरहरुको उद्देश्य र काम प्रकृतिलाई र संस्कृतिलाई कलात्मक ढंगबाट क्यामेरामा कैद गर्नु हो । हामिले मेचीदेखी महाकालीसम्म यहि र यस्तै काम गर्दै आफ्नो यात्रा पूरा गर्यौं । हाम्रो यात्राको क्रममा बैकल्पिक प्रकाशको ब्यबस्था गर्न झन्झटिलो हुने भएकोको दिनको उज्यालो प्रकाशलाई नै प्रयोग गर्नुपर्ने हुन्छ । बिहान सूर्योदय हुनुभन्दा अगाडि नै हाम्रो काम शुरु हुन्छ र आवश्यकता अनुसार प्रकाशको संयोजन गर्दै बेलुका सूर्यास्त नहुन्जेल हामी खटिइरहन्छौ । प्राकृतिक सुन्दरतालाई कैद गर्न बिहान आठ बजे अगाडिको र बेलुका चार बजेपछाडिको सूर्यको प्रकाश हाम्रो लागि महत्वपूर्ण हुने गर्दछ ।
पूर्खाले सुम्पेको सुन्दर देशलाई मुखले होइन, कर्मले सुन्दर र सुगन्धित पार्नुपर्ने बेला आएको छ । हाम्रो स्वाभिमानलाई बन्धक राखेर कमाएको सम्पन्नता होइन, पौरखी हातहरुले काम गरेर कमाएको सम्पन्नता कैयौं गुणा बढी महत्वपूर्ण हुन्छ । हाम्रो यो यात्राको भोगाइ आफ्नो मातृभुमीलाई चिन्ने सुबर्ण अवसर थियो । यो हाम्रो साँचो र यथार्थ कलाकारिता थियो । हाम्रो यो यात्राले दिएको अनुभवलाई प्रयोग गरेर हामिले भविष्यमा देशभित्रै देशलाई चिनाउने अरु महत्वपूर्ण कामहरु गर्न सक्छौं भन्ने उर्जा पैदा गरेको छ । यो एउटा साँचो कलाकारको राज्यप्रतिको उत्तरदायीत्व पनि हो ।
हेरौं 'निधारैमा नाम्लो'को भिडियो :प्रस्तुति - ईश्वर अर्याल