
मुख्यमन्त्री पदबाट राजीनामा दिनुअघि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विभिन्न ६ निर्णय गरेको छ ।
बुधवार बसेको पोखरेल नेतृत्वको अन्तिम मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता बैजनाथ चौधरीले ६ निर्णय गरिएका बताए ।
बैठकले कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा रहेर काम गरेका कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकारले आइसोलेसन अस्पतालको अस्थायी दरबन्दी स्वीकृत गरी कार्यरत जनशक्तिको म्याद समेत थप गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनाललाई स्थानान्तरण गरी अस्पतालका रेडियोलोजिस्टलाई प्रमुखको जिम्मवारी दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री पोखरेल नेतृत्वको अन्तिम मन्त्रिपरिषद् बैठकले प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन (दोस्रो संशोधन) निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ ।
बैठकले प्रदेश खेलकुद परिषद्को सदस्यको मनोनयन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा उद्योगहरूको दर्ता दस्तुरमा पूर्ण छुट प्रदान गर्ने निर्णय समेत गरेको छ ।