
प्रविधिको बढ्दो प्रयोगसँगै खोटाङ जिल्लाका सबै स्थानीय तह तथा सरकारी कार्यालयमा इन्टरनेटमार्फत सेवा प्रवाह शुरू गरिएको छ । तर इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरवाहीले स्थानीय तह तथा कार्यालयमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन् ।
सेवाग्राहीलाई विना झन्झट छिटो सेवा दिने उद्देश्यले अधिकांश स्थानीय तह तथा सरकारी कार्यालयले पेपरलेस (विना कागजात) इन्टरनेटमार्फत काम समेत शुरू गरेको छ ।
इन्टरनेट सेवा प्रभावकारी नहुँदा कार्यालयमा जडान गरिएका कम्प्युटरमा सिस्टम (प्रविधि) नचलेपछि सेवाग्राहीको काम घण्टौंसम्म रोकिने गरेको छ । १० स्थानीय तह रहेको जिल्लामा दर्जन बढी इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट जडान गरिएका छन् ।
कतिपयले सेवाग्राहीबाट अग्रिम भुक्तानी लिएर जडान गरिदिएका छन् भने कतिपयले मासिक रूपमा भुक्तानी लिने गरेका छन् ।
इन्टरनेट सेवा प्रभावकारी नहुँदा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था र जिल्लामा क्रियाशील सञ्चारकर्मी मारमा परेका छन् । यससँगै जग्गा पास तथा नामसारी गर्न जिल्ला मालपोत कार्यालय आउने सेवाग्राही पनि उत्तिकै मारमा पर्ने गरेका छन् ।
आफ्नो कार्यालयमा जडान गरिएको इन्टरनेट हप्ता दिनदेखि अवरुद्ध रहेको हलेसी न्यूज नेटवर्क प्रालि खोटाङका अध्यक्ष एवं पत्रकार हरिबोल आचार्यले बताए । ‘हामीले वार्षिक २२ हजार रुपैयाँ तिरेर इन्टरनेट जडान गरेका थियौं,’ उनले भने, ‘पटक–पटक अवरुद्ध हुँदै आएको इन्टरनेट सेवा पछिल्लो समय आएर चल्नै छाडेको छ । यस विषयमा जानकारी लिन खोज्दा सम्बन्धित कम्पनीका मान्छेले फोनसमेत उठाउन छाडेका छन् ।’ – केदार मगर/रासस