०६ असार २०८३, शनिबार
कांग्रेस केन्द्रीय समिति बैठक

कांग्रेस बैठकमा शेखरको प्रस्ताव– म्याद थप्ने कुरा मान्य हुँदैन, दुई महिनामा महाधिवेशन सकौं

कांग्रेस बैठकमा शेखरको प्रस्ताव– म्याद थप्ने कुरा मान्य हुँदैन, दुई महिनामा महाधिवेशन सकौं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका छन् । बूढानीलकण्ठमा भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापि मान्य नहुने बताएका हुन् । 

‘अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरूबाट विशेष महाधिवेशन अथवा यही कार्यसमितिलाई डेढ दुई वर्ष समय थप्ने कुरा सुनिँदैछ, कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन्,’ उनले भने, ‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन । विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापि मान्य हुँदैन ।’

उनले क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुन नसक्ने पनि बताएका छन् । ‘पटक-पटक हामीले कार्यतालिका बनायौं तर क्रियाशीलको विवादले कार्यतालिका प्रभावित भयो, यो पटक त्यस्तो नहोस्। छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्ग्याएर डेढ-दुई महिनाभित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ।’

यस्तो छ कोइरालाले बैठकमा राखेको मन्तव्यको सम्पादित अंश:

१. सरकारलाई बधाई ! शुभकामना-सफलताको कामना।

२. प्रधानमन्त्रीजीले १००% समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५% समय पार्टीको काममा खर्च भएको छ। यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ ?

३. दुई महिनादेखि १५ मन्त्रालय नेतृत्वविहीन छन् । यसले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ ?  

४. संख्याका हिसाबले नेपाली कांग्रेस अल्पमतमा छ तर पनि कांग्रेस यतिबेला सरकारको नेतृत्व गर्दैछ । गठबन्धनको सरकार छ । अहिले सरकारका सामु धेरै चुनाैती छ ।

५. यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेस पार्टीको प्रतिकूल छ। हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने छ । त्यसकारण पार्टीको सम्पूर्ण शक्ति सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने देखिन्छ।

६. आज दु:ख लागेको छ। सानेपाको कार्यलय छाडेर केन्द्रीय समिती बैठक यहाँ गर्दैछौँ । पार्टी कार्यालयमा धर्नामा बसेका हाम्रै साथीहरू हुन् । उनीहरूको माग हामीले सुन्नै पर्छ । १३औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य साथीहरू नै पार्टी कार्यलयमा धर्नामा बस्नु भएको थियो तर पार्टी अफिसमै बैठक बस्यो र साथीहरूको माग सुनुवाइ भयो । मेरो विनम्र आग्रह छ कि हरेक केन्द्रीय समिति बैठक पार्टी अफिसमै राखौँ ।

५. अधिवेशन : संविधान र कानून हामीले नै बनाएको हौँ । यहाँ हुनुभएका धेरै साथीहरू संविधानसभामा हुनुहुन्थ्यो।  त्यसमा उल्लेख भएका र लेखिएका कुराहरूलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले बिर्सन मिल्दैन । कांग्रेस पार्टी लोकतन्त्रको पाठशाला पनि हो। पदाधिकारी र पूर्व पदाधिकारीले महाधिवेशनको टुङ्गो लगाउनुहोला भनेर केन्द्रीय सदस्यहरू कुरेर बस्यौं तर उहाँहरूमा इच्छाशक्ति  देखिएन । 

६. क्रियाशील सदस्यता : तल्लो तहबाट, विधान र प्रक्रियागत ढंगले आएका छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि विपरीत थपिएका क्रियाशील सदस्यता र पार्टी समायोजन नाममा प्रक्रिया नपुर्‍याई वितरण गरिएका सदस्यताले जटिलता उत्पन्न गरेको हो । नेतृत्व र क्रियाशील छानबिन समितिले क्रियाशीलमा धेरै समस्या छैन भनेर भनिसकेकाले यसमा अल्झिन आवश्यक छैन । जुन-जुन स्थानमा समस्या छ त्यहाँ १३ औँ महाधिवेशनका क्रियाशीललाई आधार मानेर अधिवेशनमा जाऔँ ।

७. निर्देशिका :  गत निर्वाचनमा विद्रोही उमेदवार, प्रस्तावक र समर्थकको नाम क्रियाशील नवीकरणमा समावेश भएको हुन सक्छ त्यसलाई हटाउने व्यवस्था निर्देशिकामा गरिनुपर्छ भनेर क्रियाशील सदस्य छानबिन समिति संयोजक रमेश लेखक ज्युले राखिसक्नु भएको छ । कतिपय स्थानमा पार्टीका आधिकारिक उम्मेदवारको नवीकरण छुटेको छ । नवीकरण छुटेकाको हकमा १३औँ महाधिवेशनको कार्ड लिएर आएमा महाधिवेशन प्रक्रियामा सहभागी हुन दिने व्यवस्था निर्देशिकामा राख्नुपर्छ ।

८. अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरूबाट विशेष महाधिवेशन अथवा यही कार्यसमितिलाई डेढ-दुई वर्ष समय थप्ने कुरा सुनिँदैछ । कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन् । पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन । विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापि मान्य हुँदैन । क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन । पटक-पटक हामीले कार्यतालिका बनायौं तर क्रियाशीलको विवादले कार्यतालिका प्रभावित भयो, यो पटक त्यस्तो नहोस्। छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुंग्याएर डेढ-दुई महिनाभित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ।

९. नेपाली कांग्रेसको अधिवेशन हाम्रो नेतृत्व चयनको मात्र विषय होइन । यो मुलुकको भविष्य कता कसरी जान्छ भनी निर्धारण गर्ने यो महाधिवेशन हो । यसमा देशवासीको चासो र चिन्ता त छ नै , अन्तराष्ट्रिय समुदायको पनि हामी प्रति दृष्टि छ । तसर्थ कांग्रेसको १४औ ँ महाधिवेशनको संघारमा हामीले एकतावद्ध भएर हामी प्रति भरोसा र विश्वास गर्नेको मन जित्न सके नेपालमा लोकतन्त्रको भविष्य सुन्दर हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्