
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘मलाई शेरबहादुर मनपर्छ’ भन्ने खालको भिडियो अब नआउने बताएका छन् । त्यस्ता भिडियो नबनाउन आफूले निर्देशन दिएको देउवाले बताए ।
बूढानीलकण्ठस्थित देउवा निवासमा शुक्रवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य धनराज गुरुङले त्यस्ता भिडियोले प्रधानमन्त्रीलाई फाइदाभन्दा आलोचना बढ्ने बताएका थिए ।
गुरुङ बोल्दाबोल्दै सभापति देउवाले त्यस्ता भिडियो रोक्न आफूले निर्देशन दिएको बताएका हुन् ।
‘ढुक्क हुनुस्, मैले रोक्न निर्देशन दिएको छु, अब त्यस्ता भिडियो आउँदैनन्,’ देउवाको भनाइ उद्धृत गर्दै गुरुङले लोकान्तरसँग भने ।
देउवा प्रधानमन्त्री बनेर आएपछि सामाजिक सञ्जालमा ‘मलाई शेरबहादुर मनपर्छ, किनभने..’ भन्ने खालको भिडियो सार्वजनिक भएको थियो ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले पनि त्यस्ता भिडियो सार्वजनिक नगर्न ध्यानाकर्षण गराएका थिए ।