टोक्यो ओलम्पिक्समा विजेता खेलाडीहरूले पदकलाई दाँतले टोकेको देखिएकै हो ।
तर जापानको नागोया शहरका मेयर ताकाशी कावामुराले ओलम्पिक्समा स्वर्ण पदक जित्ने सफ्टबल खेलाडी मियु गोटोको पदक टोकेपछि आलोचना खेप्नुपरेको छ ।
कावामुराले गोटोको पदक बेस्सरी टोकिदिँदा पदक फुटेको छ । त्यसपछि ओलम्पिक प्रशासनले गोटोका लागि नयाँ पदक बनाउने भएको छ ।
कावामुराले पदकलाई दाँतले टोक्दा पदक फुटेको आवाज नै आएको थियो ।
घटना सार्वजनिक भएपछि कावामुरालाई सामाजिक सञ्जालमा चर्को आलोचना गरियो । आलोचना भएपछि उनले माफी मागेका छन् । माफी मागे पनि उनीविरुद्ध कठोर आलोचना जारी छ ।
आईओसी एथ्लिट्स कमिसनकी बहालवाला सदस्य युकी ओटाले ट्वीट गरेर कावामुराको आलोचना गरिन् । उनले लेखिन्, ‘खेलाडी र मेयरबीच के सम्बन्ध छ मलाई थाहा भएन तर खेलाडीप्रति मेयरले सम्मान नदेखाएको यस घटनाले स्पष्ट पारेको छ ।’
कावामुराले कोरोना प्रोटोकलको पनि बेवास्ता गरेको ओटाले लेखिन् ।