
आर्थिक अवस्था कमजोर भएकी फूटबल खेलाडी शान्ता नेपालीलाई शुक्रवार आर्थिक सहयोग गरिएको छ ।
नेप्लेज मिडियाको पहलमा स्वदेश तथा विदेशमा रहेका विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा संकलित २ लाख ५९ हजार शान्ता नेपालीलाई हस्तान्तरण गरिएको हो ।
वालिङ नगरपालिका–८ मा डेरामा बस्दै आएकी शान्ताको जग्गा जमिन नभएको र परिवारको आर्थिक स्थिति कमजोर भएपछि नेप्लेज मिडियाको पहलमा संकलन गरिएको रकम वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले हस्तान्तरण गरे ।
घरबारविहीन शान्ताको परिवारलाई वालिङ नगरपालिकाले घर निर्माणका लागि करीब ५ आना घडेरी खरिद गरिसकेको नगर प्रमुख खाँणले बताए ।
‘खेल क्षेत्रमा गरिएको खर्च खर्च नभई लगानी हो,’ प्रमुख खाँणले भने, ‘यसले तत्कालभन्दा पनि केही समयपछि मात्रै उपलब्धि दिने गर्छ ।’
खेलाडी तथा उसको परिवारका लागि आवश्यक सहयोग गर्न नगरपालिका सदैब तत्पर रहेको बताउँदै नगर प्रमुख खाँणले खेलाडीलाई जीवनयापनका लागि रोजगारीको अवसर र १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्थापन गरिदिने उल्लेख गरे ।