
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ ।
कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करूपमा किट वितरण गरेको हो ।
आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कोरोना पोजेटिभ भएर होम वा आइसोलेसनमा रहेका बिरामीलाई वितरण गरिएको कार्यालयका प्रमुख डा. रामप्रबोध मण्डलले जानकारी दिए ।
औषधिमा गुर्जो, अश्वगन्ध, जेठी मधु, त्रिकटु, लक्ष्मीमिलासरस, सेतोपलादी लगायतका जडीबुटीको समिश्रणबाट औषधि तयार गरिएको उनले बताए ।
बिरामी लक्षण र अवस्थाअनुरुप औषधिको मात्रामा थपघट गरिन्छ । उनले भने, ‘औषधि सेवन गरेका बिरामीले कोरोना जित्न सफल भएका छन् ।’
जिल्लामा कोरोनाको संख्या बढ्दै गएका कारण अहिले स्वास्थ्य केन्द्रमा उपचारको लागि आउने बिरामीको स्वास्थ्य परीक्षण गर्ने कार्य रोकिएको छ । उनीहरूको समस्याका पहिचान गरी आयुर्वेदिक औषधि प्रदान गर्न थालिएको छ ।
कोरोना संक्रमण बढेसँगै उपचारमा आउने बिरामीको संख्या करीब ५० प्रतिशत घटेको सो कार्यालयले छ ।
कोरोना हुनुअघि दिनमा ५०–६० सम्म बिरामी आउने गरे पनि अहिले मुस्किलले १५–२० को हाराहारीमा आउने गरेका छन् । उपचारको लागि तनहुँ, गोरखा, लमजुङ र कास्कीका केही भेगका मानिस आउने गर्छन् ।