
राष्ट्रिय प्रजातन्त्र पार्टीले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरूको पूर्ण सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
राप्रपा अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् ।
‘तालिबानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरूको सुरक्षाबारे राप्रपा चिन्तित छ,’ वक्तव्यमा भनिएको छ, ‘त्यसर्थ, अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरूको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’
यस्तै ब्रिटिश गोर्खाका पूर्व सैनिकहरूले न्याय र समानताको माग राखेर लामो समयदेखि संघर्ष गर्दै आइरहेको भन्दै उनीहरूका माग पूरा गर्न बेलायती सरकारसँग माग गरेको छ । साथै ती मागहरू पूरा गर्न गराउन सशक्त कूटनीतिक प्रयास गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।