०१ असार २०८३, सोमबार
एमाले विभाजन

२४ वर्षपछि फेरि फूटको संघारमा नेकपा एमाले

२४ वर्षपछि फेरि फूटको संघारमा नेकपा एमाले

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले फूटको संघारमा पुगेको छ ।

एमाले विभाजन भएर नेकपा माले गठन भएको २४ वर्षपछि एमाले फेरि फूटको दिशामा गएको हो । २०५३ सालमा भएको महाकाली सन्धिलाई लिएर २०५४ सालमा एमाले विभाजन भएर माले गठन भएको थियो । 

सहाना प्रधान, वामदेव गौतम, सीपी मैनाली लगायतले माले गठन गरेका थिए । २०५६ सालको प्रतिनिधि सभामा देशभर लज्जास्पद पराजय व्यहोरेपछि दुई पार्टीबीच फेरि एकता भएको थियो ।

गौतम, प्रधानलगायत ठूलो हिस्सा एमालेमा फर्के पनि सीपी मैनालीले भने माले पुनर्गठन गरेका थिए । एमाले विभाजन गरेका नेताहरूले पछि पार्टी विभाजन गर्नु गल्ती भएको बताएका थिए । 

विभाजनको असर एमालेमा पछिसम्म देखिएको थियो । २०५४ सालमा भएको विभाजनको असर नबिर्सँदै फेरि एमाले विभाजनको डिलमा पुगेको छ ।

माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि भन्दै हस्ताक्षर संकलन गरिसकेको छ ।

२०५४ सालमा विभाजनको कारक महाकाली सन्धि देखिएपनि यसपटक एमाले विभाजनको खास कारण देखिएको छैन । माधव नेपाल पक्षले प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगामी कदम भन्दै आइरहेको थियो । 

२०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकता भंग हुनुपूर्व नै माधव नेपाल, झलनाथ खनाललगायत नेताहरूले ओलीको राजीनामा माग गरेका थिए । 

यसबीचमा पार्टी एकताका लागि प्रयास भएपनि त्यसले सार्थकता पाउन सकेन । दुवै पक्षले कार्यदल गठन गरेर १० बुँदे सहमति गरेपनि त्यसले पार्टी जोगाउन सकेन । 

अन्तिम कोशिश गर्न भन्दै उपमहासचिव घनश्याम भुसालले हिजो साँझ अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । 

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी कायम गर्नुपर्ने, समान अधिकार सहितको दुई अध्यक्ष राख्नुपर्ने तथा फागुन २८ पछिका सबै निर्णय खारेज गर्नुपर्ने शर्त माधव नेपालले राखेका थिए । 

दुवै अध्यक्षको हस्ताक्षर मात्र आधिकारिक हुने लगायत माधव नेपालका शर्त ओलीले अस्वीकार गरेको स्रोतको दाबी छ । 

पार्टी विभाजनका लागि खुकुलो प्रावधानसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल दर्ताको गृहकार्य शुरू गरेको छ । 

आजै निर्वाचन आयोग जाने तयारी भएको नेपाल पक्षीय एक नेताले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्