
गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् ।
तीमध्ये मुख्यमन्त्री पोखरेलसहित ९ मन्त्रीहरूले मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
गत जेठ २९ गते पोखरेल नेतृत्वमा गण्डकीमा सरकार बनेको छ ।
सार्वजनिक गरिएको सम्पत्ति विवरणमा मुख्यमन्त्री पोखरेलले आफ्नो २५ लाख रुपैयाँ ऋण भएको दाबी गरेका छन् । २ वर्षअघि कृषि विकास बैंकबाट ऋण लिएको बताएका छन् ।
उनको नाममा काठमाडौं र तनहुँमा जग्गा छ भने ५ तोल सुन समेत छ । पत्नी लताको नाममा २० लाख रुपैयाँको घर छ । तलबबाट आएको ५ लाख रुपैयाँ एभरेस्ट बैंकमा रहेको भनी आम्दानी देखाएका छन् ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठसँग मात्रै १ किलो १९ तोला सुन रहेको छ । गृहजिल्ला स्याङ्जाको भिरकोट र काठमाडौं नागार्जुनमा पक्की घर, स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा जग्गा रहेको देखाएका छन् । साथै १५ लाख नगद, ७ किलो २ तोला चाँदी र १ थान हिराको औंठी रहेको उल्लेख गरेका छन् ।
प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छोराबुहारीको नाममा मोटरसाइकल र स्कुटर, आफ्नो नाममा ६० कित्ताको निफ्राको शेयर, एभरेस्ट बैंकमा ३ लाख नगद उल्लेख गरेका छन् । उनले गत वर्ष एनआईसी एशिया बैंकबाट १ करोड ऋण लिएको जनाएका छन् । पत्नीसहित आफ्नो नाममा जग्गा छ भने ४ तोला सुन विवरण देखाएका छन् ।
धनीमन्त्री भनिएका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखराका विभिन्न ६ स्थानमा घर र ८ ठाउँमा जग्गा देखाएका छन् । उनले २ गाडी, ५ बैंक तथा वित्तीय संस्थामा ऋण रहेको उल्लेख गरेका छन् भने होटल, ट्रेड हाउस, मल, रिसोर्ट लगायतमा आफ्नो लगानी देखाएका छन् ।

उनको घरमा नगद ५५ हजार, ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा छ । विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झण्डै १० करोड नगद छ भने आफूसहित सँगोलको परिवारमा गरी ७ लाख ५० हजार कित्ता शेयर छ ।
वनमन्त्री दीपक थापाले स्याङ्जाको बिरुवामा ५० हजार रुपैयाँ बराबरको घर किनेको बताएका छन् । उनले पोखरा महानगरपालिका–१४ मा ४० लाखको जग्गा किनेका छन् । उनीसँग सुन र चाँदी क्रमशः ३० र २० तोला छ । उनले ऋण काढेर चर्ती नर्सरी उद्योग सञ्चालन गरेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले ९५ तोला सुन, विभिन्न संस्थामा १ करोड बढी नगद, ५६ लाखको शेयर देखाएका छन् । उनको घर पोखरा–१६ मा ३८२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ भने बैंक तथा वित्तीय संस्थामा ८५ लाख ऋण रहेको उल्लेख गरेका छन् ।
ऊर्जामन्त्री हरिशरण आचार्यको स्थायी घर गोरखाको पालुङटारमा आफ्ना बुवा र पत्नीको नाममा घरजग्गा रहेको उल्लेख छ । उनले बैंक तथा वित्तीय संस्थाबाट ५० लाख ऋण लिएको भनेका छन् । साथै ८ तोला सुन र ५ तोला चाँदी रहेको जनाएका छन् ।
पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलको सम्पत्ति बागलुङमा छ । त्यहाँको काठेखोलामा ६ स्थानमा उनको जग्गा रहेको छ । साथै उनको नाममा चितवनका विभिन्न ५, रुपन्देहीका ९ र पत्नी इन्द्रकलीको नाममा चितवनमा ३ स्थानमा जग्गा छ । उनले बागलुङ बजारमा झण्डै ५० लाखमा घर किनेका छन् । उनीसँग २५ तोला सुन र १ किलो चाँदी छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङको लमजुङ दूधपोखरीमा घर छ । उनको लमजुङ, चितवन र मकवानपुरमा गरी विभिन्न ४ स्थानमा जग्गा छ । उनको नाममा साढे ८ लाख नगद मौज्दात र ३ तोला सुन छ ।
मन्त्रिपरिषद् विस्तारको २ महिनापछि मात्र सार्वजनिक सम्पत्तिमा युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले अझै सम्पत्ति विवरण बुझाएका छैनन् ।