२० असार २०८३, शनिबार

नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा अर्याल नियुक्त

नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा अर्याल नियुक्त

अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भई आएका सुमनराज अर्याल नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको बिहीवारको बैठकबाट सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका छन् ।

सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सुमनराज अर्यालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बिहीवारै पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

शपथ ग्रहण कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै उनको आगमनले बैंकको सञ्चालक समितिले थप उचाइ लिने र एउटा सफल प्रतिस्पर्धी बैंकको रूपमा आफूलाई उभ्याउन सफल हुने विश्वास व्यक्त गरे ।

नेपाल सरकारले देशमा उद्यमशीलताको विकास र रोजगारी सिर्जनाका लागि तर्जुमा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयनमा समेत नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आफ्ना भनाई राख्दै नवनियुक्त अध्यक्ष सुमनराज अर्यालले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रशन्नता व्यक्त गरे । शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उनले आफ्नो कार्यकालमा बैंकको श्रीवृद्धि तथा व्यवसायिक विकासमा आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय निलम शर्मा ढुंगाना र बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

नेपाल बैंक लिमिटेड सञ्चालक समितिका सदस्यहरू दीपेन्द्रविक्रम थापा, सुमन दाहाल, डा. सावित्री रञ्जित श्रेष्ठ, विवेकशम्शेर जबरा, विष्णुकुमार अग्रवाल र ओमकृष्ण श्रेष्ठको उपस्थिति रहेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त जानकारी गराएका थिए ।

कार्यक्रममा बैंकका कायममुकायम नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तको समेतको उपस्थिति रहेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्