२६ जेठ २०८३, मंगलबार
विभाजनको बोली

बागमतीको वारिपारि ओली र नेपालको जुहारी

भदौ १०, २०७८
बागमतीको वारिपारि ओली र नेपालको जुहारी

नेकपा एमालेबाट छुट्टिएर अध्यक्ष माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेपछि बिहीवार पहिलो सार्वजनिक कार्यक्रम आयोजना गरेका थिए । उनले काठमाडौंको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा पत्रकार सम्मेलन आयोजना गरेर नयाँ पार्टीका कार्यक्रम र आफ्ना धारणाहरू सार्वजनिक गरे ।

अर्काेतिर एमाले विभाजनमा मझधारमा उभिएका केही नेताहरू अन्ततः मूल पार्टी एमालेमै फर्किए । १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएपछि पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएर एमालेमै फर्किएका नेताहरूसहित ओलीले केन्द्रीय कमिटीको बैठक राखे ।

नयाँ पार्टी खोल्न गएकालाई कारबाही गर्ने र १० बुँदे प्रस्ताव पार्टीको तल्लो तहसम्म कार्यान्वयन गर्ने मुख्य एजेण्डा राखेर ओलीले बैठक बोलाएका थिए । बिहीवारको बैठक एमाले फूट र विवाद समाधानपछिको पहिलो केन्द्रीय कमिटी बैठक हो । 

संयोग यस्तो पर्‍यो दुवै पार्टीले गरेको पहिलो कार्यक्रम बागमती नदीको वारिपारि रह्यो । एमालेले च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा केन्द्रीय कमिटीको बैठक राखेको थियो भने नेकपा एकीकृत समाजवादीको पत्रकार सम्मेलन ठीक पारिपट्टि बुद्धनगरस्थिति क्वालिटी पार्टी प्यालेसमा आयोजना गरिएको थियो । 

दुवै पार्टीले बागमतीको वारिपारिबाट एकअर्काको उछितो काँढे । करीब ५० वर्षसँगै राजनीतिक काम गरेका ओली र नेपाल लामो समयको दुश्मन जसरी प्रस्तुत भइरहेका थिए । उनीहरूको अभिव्यक्ति एकअर्कालाई खुइल्याउन र दोषी करार गर्न केन्द्रित थियो ।

तुलसीलाल स्मृति प्रतिष्ठानको ठीक पारिपट्टि क्वालिटी पार्टी प्यालेसबाट नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीको उसैगरी उछितो काँढे ।

दिउँसो १२ बजे केन्द्रीय कमिटी बैठक बोलाएका ओलीले माधव नेपालले एमालेको हुँडलो मच्चाएको आरोप लगाएका थिए । बैठकमा भूपि शेरचनको ‘मैनबत्तीको शिखा’ शीर्षकको कविता अंश स्मरण गर्दै सम्बोधन गरेका ओलीले कवितामा कविले भनेजस्तो एक नवयुवतीले सुहागरात र पति विगोय एकैपटक सम्झेजस्तो आफूले अनुभूत गरिरहेको बताएका थिए । 

‘केही मानिसहरूको गैरजिम्मेवार र स्वार्थी प्रवृत्तिले बिगार्‍यो । उनीहरूले पार्टीमा हुँडलो मच्चाए । उनीहरूकै कारण आन्दोलन विभाजित भयो । केन्द्रदेखि प्रदेशसम्मका सरकार पनि ढले । अब हामी अन्तिम कित्ताकाटको अवस्थामा आइपुगेका छौं,’ ओलीले केन्द्रीय कमिटी बैठकमा भनेका थिए । 

त्यति मात्रै होइन, माधव नेपालको अहंकार र पदालोलुप प्रवृत्तिको कारण नयाँ पार्टी खोल्न गएको आरोप ओलीले लगाए । माधव नेपालले पार्टीलाई बजारजस्तो बनाएको पनि ओलीले केन्द्रीय सदस्यलाई बताए ।

ओलीले भने, ‘पार्टी बजार जस्तो होइन । बजारमा धेरै मान्छे जम्मा हुन्छन् तर तिनका उद्देश्य फरक हुन्छन्, कोही माछा किन्न, कोही टोपी किन्न, कोही सारी किन्न गएका हुन्छन् तर पार्टी त्यस्तो हँुदैन । पार्टीमा एउटै उद्देश्य हुन्छ । माधव नेपालको अहंकार र पदलोलुपताबाहेक नयाँ पार्टीको कुनै उद्देश्य छैन ।’

बैठकमा ओलीले पार्टी सामान्य अवस्थामा चलिरहेको बेला स्वार्थ, अहंकार र इष्र्याका कारण माधव नेपाल नयाँ पार्टी खोल्न गएको बताएका थिए । 

बैठकमा ओलीले भने, ‘हिजोसम्म हामीसँगै रहेका केही मित्रहरू आन्दोलनको बाटो छाडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छाडेर, आन्दोलनको अभिभारा बिर्सेर, आफ्नो काँधका जिम्मेवारी बिर्सेर, जनतामा गरेका प्रतिबद्धता बिर्सिएर, आफूले लिएका शपथहरू बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर भावावेषका अकारण सैद्धान्तिक मतभेद विना हिँडेका छन् । कसैले लखेटेर, पार्टीमा बस्न नसकेर होइन । सामान्य अवस्थाबाट पार्टी चलिरहेका बेला केहीका स्वार्थवश, केहीका अहंकारवश, केहीका इष्र्यावश नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुगेका छन् ।’

दिउँसो २ बजे क्लालिटीमा पत्रकार सम्मेलन शुरू गरेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष ओलीलाई खुइल्याउने प्रयास गरे । 

पार्टी विभाजन भएपछि ओलीले भोज आयोजना गरेको, दक्षिणपन्थी भासमा फसेको, राजतन्त्रलाई समर्थन गरेको, पार्टीलाई तहसनहस पार्न उद्यत भएको जस्ता आरोप लगाएका थिए ।

एमाले अध्यक्ष ओली दक्षिणपन्थी भासमा भासिएकाले आफूहरूले नयाँ पार्टी गठन गरेर क्रान्तिकारी धार निर्माण गर्न सफल भएको नेपालले बताए । 

उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ अध्याय शुरू गर्न गइरहेका छौं । एमालेको दक्षिणपन्थी भासबाट जोगिएर क्रान्तिकारी धार निर्माणको अवस्थामा पुगेका छौं ।’

पत्रकार सम्मेलनमा नेपालले भने, ‘जनताप्रतिको जिम्मेवारीबोधबाट भागिसकेको, सरकार सञ्चालनमा असफल भइसकेको, पार्टीलाई तहसनहस पार्न उद्यत भइसकेको र एकीकृत भइसकेको नेपाल कम्युनिस्ट पार्टीलाई विभाजित गर्ने काममा अग्रसरता लिएको, विभाजित हुँदाखेरी भोज भतेर गरेर खुशीयाली मनाएको, अनि नेकपा एमालेलाई पनि विभाजन गर्नका लागि २०७७ चैत्र २८ गते कदम चालेको, र नेपालको जनताको निर्वाचित संस्था प्रतिनिधिसभा २०७७ पुस ५ गते विघटन गरेर प्रतिगामी कदम चालेको र प्रतिगमनको दिशातर्फ अगाडि बढेको र नेपालको इतिहासमा, राजनीतिमा एउटै प्रधानमन्त्रीले आफ्नो एउटै कार्यकालमा २ पटक प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चाल्ने कीर्तिमान कायम गरेको यस्तो व्यक्तिको भ्रमबाट मुक्त हुनुपर्छ । केपी ओली पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, त्यहाँ उहाँले पार्टीमा सबैखाले मूल्य र मार्क्सवादी मूल्य र मान्यतालाई तिलाञ्जली दिइसकेपछि, व्यक्तिवादमा चुर्लुम्म डुबेपछि, अनि व्यक्तिवादी अहंकारको घोडामा सवार भइसकेपछि, त्यो पार्टीलाई आफ्नो निजी कम्पनीको रूपमा ठानिसकेपछि, जनताका बहुदलीय जनवादका सबै मूल्य र मान्यतालाई तिलाञ्जली दिइसकेपछि र त्यसपछि क्रान्तिकारी योद्धालाई त्यो पार्टीबाट निष्कासन गरिसकेपछि त्यसका विरुद्धमा विद्रोह गर्नेबाहेक हामीसँग अरु कुनै विकल्प भएन ।’

त्यति मात्रै होइन, माधव नेपालको पार्टीले केही गर्न सक्दैन भनेका ओलीलाई नेपालले जवाफ फर्काएका छन् । उनले पत्रकार सम्मेलनबाट भने, ‘अहिले नयाँ पार्टीले केही गर्न सक्दैन भन्नेहरू विगतमा राजतन्त्रलाई ढाल्न सकिँदैन भन्ने गर्दथें ।’

जनआन्दोलनको बेला ओलीले राजतन्त्र ढाल्न र गणतन्त्र ल्याउन नसक्ने बताउने गरेको नेपालले दोहोर्‍याउने गरेका छन् । 

अध्यक्ष नेपालले ओलीलाई भजनमण्डलीहरू जम्मा गरेर आरती उतार्ने कुसंस्कार पार्टीमा भित्र्याएको आरोप लगाए । उनले भने, ‘नयाँ पार्टीमा कुसंस्कारीहरूको झुण्ड हुने छैन । एउटा नेताको प्रशंसामा जम्मा भएको भजनमण्डली पनि हुने छैन । कसैका फोटाहरू पनि प्रदर्शन गरिने छैन । अनि त्यो फोटोका सामु आरती उतार्ने काम कसैले गर्ने छैन ।’

एमाले र माओवादी मिलेर बनेको नेकपाको स्थायी कमिटीको बैठकमा त्यसबेला २ अध्यक्षहरू केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो राखेकोमा नेपालले विरोध गरेका थिए । त्यति मात्रै होइन, विभिन्न भेला, बैठक, सभा, समारोह, आमसभाहरूमा ओलीको फोटो प्रदर्शन हुने गरेको थियो । नेपालले पत्रकार सम्मेलनमा  त्यसैको आलोचना गरेको थिए ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी फुटाएर नयाँ पार्टी दर्ता गर्न जानेहरूको सम्पूर्ण अभिलेख हटाउने निर्णय गरेको छ । नेता नेपालले भने ओलीको भ्रममा नपरेर क्रान्तिकारी अभियानमा समाहित हुन आफ्नो पार्टीमा आउन एमालेका नेता कार्यकर्तालाई आह्वान गर्दै नेपालले भने, ‘३२ सालका सहयोद्धाहरू कतिपय साथमा छैनन् । माले कालका सहयोद्धाहरू कतिपय छैनन् । एमाले कालका सहयोद्धाहरू केही छैनन् तर हाम्रो यात्रा निरन्तर रूपमा जारी रहेको छ । फेरि ती सहयोद्धाहरू यो यात्रामा समावेश हुन सक्नुहुन्छ । ती सहयोद्धाहरूको बारेमा मैले गुनासो गर्नुपर्ने केही पनि छैन ।’

salt training

कमेन्ट गर्नुहोस्