
पोखराको मणिपाल शिक्षण अस्पताल ३ अर्ब ५० करोड रुपैयाँमा बिक्री हुने भएको छ ।
पोखराका प्रतिष्ठित व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले संयुक्त रूपमा अस्पताल खरिदका लागि प्रारम्भिक सम्झौता गरेका हुन् ।
बतासको बतास अर्गनाइजेसन र पौडेलको अटोवेज ग्रूपले संस्थागत रूपमा खरिदका प्रारम्भिक सम्झौता गरिसकेको र शुक्रवार हुने खरिद बिक्री सम्झौताको ड्राफ्ट समेत तयार पारिसकेको छ ।
साढे ३ अर्ब रुपैयाँमध्ये बतासको ६० र अटोवेजको ४० प्रतिशत लगानी हुनेछ । अस्पतालको स्वामित्व लिइसकेपछि बतास अध्यक्ष र पौडेल उपाध्यक्ष रहने सम्झौता भएको पौडेलले बताए ।
भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रूपको लगानीमा खुलेको अस्पतालमा कलेज तथा अस्पताल सञ्चालनमा नेपाल सरकार र मणिपाल कर्मचारी युनियनको लगातार असहयोग रहँदै आएपछि भारतीय समूह बिक्रीको मनस्थितिमा पुगेको बताइएको छ । कलेज र अस्पताल दुवै बिक्री गरेर मणिपाल समूह नेपालबाट बाहिरिन लागेको हो ।
अटोवेज ग्रूपका अध्यक्ष पौडेलका अनुसार मेडिकल कलेज र अस्पतालको कूल मूल्यांकन २ अर्ब २५ करोड रुपैयाँ भएको छ । मेडिकल कलेजको कुनै पनि ऋण नभए पनि कर लगायत अन्य विभिन्न दायित्व गरी ९७ करोड बढी रुपैयाँ तिर्न बाँकी रहेकाले दायित्व समेत सकारेर साढे ३ अर्ब रुपैयाँमा खरिद गर्न लागिएको छ ।
पूर्ण रूपमा ‘लोन फ्री’ रहेको अस्पतालसँग १० रोपनी जग्गा र भवनका साथै अतिरिक्त ३० रोपनी जग्गा छ ।
अस्पताल र मेडिकल कलेजमा गरी १ हजार १०० कर्मचारी कार्यरत छन् । कलेजले वार्षिक रूपमा १०० जनालाई एमबीबीएस पठाउँदै आएको छ । यस क्षेत्रकै ठूलो अस्पताल मणिपाल शिक्षण अस्पतालमा करीब ८०० शय्या छन् ।
अस्पतालका मौजुदा केही संरचना थप फेरबदल गरेर गण्डकी प्रदेशकै सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य रहेको अटोवेजका अध्यक्ष पौडेलले सुनाए । स्वामित्व लिइसकेपछि नयाँ व्यवस्थापनसँगै अस्पताललाई पब्लिक लिमिटेड कम्पनीका रूपमा लैजाने योजना छ ।
कलेजमा प्यारामेडिकल कोर्स, बीबीए तथा एमबीए एण्ड इन्जिनीयरिङ र बीडीएस अध्ययन समेत शुरू गरिने उनले बताए ।
निजी क्षेत्रबाट नेपालमै पहिलो पटक सन् १९९४ पोखरा–११ फूलबारीमा अस्पताल खुलेको हो । अस्पतालमा विभिन्न सुविधाका कारण कतिपय जटिल रोगका बिरामीलाई राजधानी काठमाडौं तथा विदेश धाउनुपर्ने बाध्यता टरेको छ ।
बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले कोरोनाको दोस्रो भेरियन्ट शुरू भएसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न रकम संलकनमा नेतृत्वदायी भूमिका खुलेका थिए ।
अक्सिजन प्लान्टको काम समेत प्रक्रियामा रहेको उनले बताए ।