
गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चार जना किशोर हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन् । तातोपानी गाउँपालिका– ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुल रावत र देविभक्त रावतका १७ वर्षीय छोरा कालीबहादुर रावत ४० दिनदेखि सम्पर्कमा नआएको सोही गाउँका स्थानीय युवा राजु रावतले जानकारी दिए ।
“यहाँका प्रायः नागरिक मजदूरीका लागि भारतको हिमाञ्चल, उत्तर प्रदेशमा जान्छन्”, राजुले भने, “त्यही भएर भारतमा उपलब्ध हाम्रा आफन्त र चिनजानेका सबैसँग सम्पर्क ग¥र्यौं तर उनीहरु कतै पनि नपुगेको खबर आयो ।” गाउँलेहरुले उनीहरु कालापहाड गएको हुनसक्ने आशङ्का गरेको उनले बताए ।
तुल रावतका बुबा गोविन्द रावतले लामो समयदेखि छोरा नआएकाले चिन्ताले सताएको दुखेसो गरे ।