
नेपाल उद्योग तथा वाणिज्य महासंघले निर्यात वृद्धिलाई स्थायित्व दिँदै अझ सुधार गर्नुपर्नेमा जोड दिएको छ ।
शुक्रवार महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधान सहितका प्रतिनिधिमण्डलले उद्योग मन्त्रालयका सहसचिव एवं द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका प्रमुख नारायण प्रसाद रेग्मीलाई भेटी उक्त सुझाव दिएको हो ।
शुक्रवार उद्योग मन्त्रालयलाई दिएको सुझावमा उसले यसका लागि नेपालबाट निर्यात हुने वस्तुहरूको थप पहिचान एवं प्रवद्र्धन गर्नुपर्ने धारणा राखेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम महिनामा नेपालबाट कूल रू. २० अर्व ७६ करोड ५१ लाखको वस्तु निर्यात भयो भने सोही अवधिमा अघिल्लो आ.व.मा रू. ९ अर्व ६२ करोडको निर्यात भएको थियो । यो निर्यातको वृद्धिलाई स्थायित्व दिंदै अझ सुधार गर्दै जानुपर्नेमा महासंघले जोड दिएको हो ।
यसका लागि नेपालबाट निर्यात हुने वस्तुहरूको थप पहिचान एवं प्रवद्र्धन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको स्थापना यथाशीघ्र गरिनुपर्ने, नेपालका साना मझौला उद्योगहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भइरहेकाले निर्यात प्रवद्र्धनका लागि निर्यात प्रोत्साहन कम्तिमा १० प्रतिशत हुनपर्ने र त्यो भन्दा माथि सामूहिक ट्रेडमार्क, तेस्रो मुलुक निर्यात गर्नेलाई थप प्रोत्साहनको व्यवस्था गरी फरक फरक वस्तुको लागि नगद अनुदान रकम छुट्याइनु पर्ने महासंघले जनाएको छ ।
त्यसैगरी नगद अनुदान प्राप्तिको प्रक्रिया झन्झटिलो भएकाले सरल रूपमा निकासी भएको विन्दुबाट ७ दिनभित्र सम्वन्धित उद्योग व्यवसायको बैक खातामा अनलाइन भुक्तानीको व्यवस्था गरिनु पर्ने माग महासंघले मन्त्रालयसँग गरेको छ ।
निर्यातमा पुनरकर्जाको हालको व्यवस्था अव्यवहारिक भएकाले निर्यातको प्रत्येक अर्डरका लागि पुनरकर्जाको व्यवस्था हुनुुपर्ने र त्यस्तो कर्जाको समयावधि न्युनतम तीन वर्षको लागि गरिनुपर्ने, ढुवानी लागत बढी भएकोले नेपालले आफनै कन्टेनरको व्यवस्था गर्नुपर्ने र नेपालमा सामान लिएर आउने कन्टेनरहरूको भाडा नेपाली आयातकर्ताले अगाडिनै तिरिसकेको हुँदा फर्किदा खाली भएर फर्किने भएकाले नेपालबाट निर्यात गर्ने सामानको ढुवानी भाडामा पचास प्रतिशत छुटको व्यवस्था गरिनुपर्ने, कृषि क्षेत्रलाई दिएको ब्याज दरमा सरल सुलभ रूपमा सबै बैंकले एकरुपता हुने गरी ऋण उपलव्ध गराउनु पर्ने, सबै निर्यात गर्ने उद्योगहरूलाई निर्यातमा कर छुट र ड्यूटीमा ड्र ब्याक फिर्ता पाउने व्यवस्था हुनपर्ने सुझाव महासंघले दिएको छ ।