०६ असार २०८३, शनिबार

गभर्नर भन्छन् : व्यवसाय गर्न शेयर धितो कर्जाको सीमा लागू हुन्न, बैंकलाई दबाब दिन थालेपछि लगाम लगाइएको हो

गभर्नर भन्छन् : व्यवसाय गर्न शेयर धितो कर्जाको सीमा लागू हुन्न, बैंकलाई दबाब दिन थालेपछि लगाम लगाइएको हो

व्यवसाय गर्न चाहनेका लागि नेपाल राष्ट्र बैंकको शेयर धितो कर्जा सम्बन्धी पछिल्लो नीतिले कुनै असर नपार्ने गभर्नर महाप्रसाद अधिकारीले स्पष्ट पारेका छन् ।

मार्जिन प्रकृतिको कर्जामा कसैले व्यवसाय गर्न चाहन्छ भने राष्ट्र बैंकले तोकेको ४ र १२ करोडको सीमाले नछुने उनले जानकारी दिए । शुक्रबार नाफिजले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले अहिले पनि शेयर धितोमा कर्जा लिएर व्यवसाय गर्न पाउने बताए ।

उनले व्यवसाय गर्नका लागि नभइ शेयर धितो राखेर शेयरमै लगानी गर्नेलाई मात्रै उक्त सीमा तोकिएको बताए । शेयर धितो राखेर ७० प्रतिशतसम्म कर्जा पाइने उनको भनाइ छ ।

‘मार्जिन प्रकृतिको कर्जाका सन्दर्भमा कसैले व्यवसाय निरन्तरताका लागि आफूसँग रहेको कुनै पनि कम्पनीको शेयर धितोको रुपमा राख्न सक्छ । त्यसमा अहिले तोकिएको करोडको सीमाले छुँदैन,’ उनले भने ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा कुनै व्यक्ति वा संस्थाले एउटा संस्थाबाट शेयर धितोमा बढीमा ४ करोड र समग्रमा १२ करोड रुपैयाँ कर्जा लिन पाउने नयाँ व्यवस्था गरेको थियो ।

‘कुनैपनि व्यक्तिले अनलाइन व्यवसाय सञ्चालन गरिरहेको र कुनै कम्पनीको २० करोड बराबरको शेयर भएमा शेयर धितोमा मूल्यांकनअनुसार कर्जा उपयोग गर्न पाउँछ ,’ गभर्नर अधिकारीले भने, ‘तर यहाँ रिसाइकल भएको भेटिएको छ । बैंकबाट कर्जा लिने अनि शेयर खरिद गर्ने, फेरि त्यो शेयर अर्को धितो राखेर ७० प्रतिशतसम्म कर्जा लिने र अर्को डिम्याटबाट कर्जा लिने प्रवृत्ति देखिएकाले उक्त सीमा कायम गरिएको हो ।’
यस्तो सीमा अन्य देशहरुको तुलनामा धेरै राखिएको उनको भनाइ छ ।

 अहिले शेयर मार्जिन कर्जामा सुधारको आवश्यकता देखिएकाले राष्ट्र बैंक नीतिगत सुधारको बाटोमा रहेको उनले बताए ।  

कमेन्ट गर्नुहोस्