
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई नुहाउँदा एक–दुई वटा कपाल झरेको भन्दै चिन्ता लिनु नपर्ने बताएका छन् ।
ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा आज आयोजित युवा संघ नेपालको कार्यक्रममा बोल्दै ओलीले भने, ‘बिग्रिएका मान्छेले पार्टी छोडेका हुन् । फुटेको होइन, चोइटिएको मात्रै हो । फुट्यो भने दुई टुक्रा हुन्छ काम लाग्ने हुँदैन । अहिले त सानो चोइटो मात्रै गएको हो । सिंगो एमाले त यहीँ छ ।’
उनले भने, ‘नुहाउँदा एक–दुई वटा कपाल झर्छन् । अहिले त्यस्तै भएको हो । जस्तोसुकै ब्राण्डेड साबुन प्रयोग गरे पनि एक–दुई वटा कपाल त झर्छन् नै यसमा चिन्ता लिनुपर्ने कुरै छैन ।’
हरियो हुने रुखको पनि एक–दुई वटा पात झर्ने र पलाउने भइरहने भन्दै पार्टी टुक्रिएकोमा चिन्ता नलिन कार्यकर्तालाई ओलीले आग्रह गरे ।
ओलीले आगामी निर्वाचनमा जितेर एमाले फेरि पनि सरकार बनाउने र विकास तथा समृद्धिको नेतृत्व गर्ने दाबी गरे ।
‘विकसित देश बनाउने, स्कुल कलेज, अस्पताल, बाटो, कृषिको व्यावसायिकीकरण, आधुनिक विज्ञान प्रविधिको प्रयोग, डिजिटल नेपालको परिकल्पनालाई साकार पार्ने कुरा एमालेले गरिआएको छ र गर्छ,’ कार्यक्रममा ओलीले भने ।
एमाले कम्युनिष्ट आन्दोलन र राजनीतिको प्रमुख धारसँगै नेपालको विकासको अभियन्ता पनि भएको ओलीले बताए ।
जनादेशबाट होइन जालझेलबाट सरकारबाट हटाइएकाले चुनावबाट यसको जवाफ दिने उनले दाबी गरे । ‘चुनाव त आओस् जवाफ दिनुपर्छ, एकमुष्ट, थोक जवाफ दिनेछौँ,’ ओलीले भने ।
आगामी सबै चुनावमा एमालेले जित्ने दाबी गर्दै ओलीले भने, ‘संघीय संसद्मा सबैले जित्नुपर्छ । जो उम्मेदवार हुन्छ त्यो जित्छ । को उम्मेदवार हुन्छ अहिले मलाई थाहा छैन । तर, नेकपा एमाले उम्मेदवार हुन्छ । जो उम्मेदवार हुन्छ, उसले जित्छ र जित्नुपर्छ ।’
चुनावमा एमालेको उम्मेदवारसँग प्रतिस्पर्धा गर्न आउने जो कोहीलाई पनि प्रतिस्पर्धामा निकै पर छाड्नुपर्ने ओलीले बताए ।
‘चतुर्मुखी ब्रम्हाका मुखजस्ता भएका खान मात्रै जानेका झुण्डलाई एउटा पनि सदस्य जित्न दिनु हुँदैन । सबै ठाउँमा एमालेको उम्मेदवारले नै चुनाव जित्नुपर्छ,’ ओलीले भने ।
एमालेसँग आबद्ध युवाहरू अत्यन्त सालिन भएर यो युवासँगको नेता हो भनेर चिनिनु पर्ने पनि ओलीले बताए ।
‘युवासँगमा भएका युवाहरू पाखुराबाट चल्ने होइन दिमागबाट चल्ने हुनुपर्छ । उनीहरूको बल देश र समाजको लागि प्रयोग गर्छन् दुरुपयोग गर्दैनन्,’ ओलीले भने, ‘जनतालाई हामी जनार्दन मान्छौं । जनताका बैरीहरूसँग चट्याङ बन्छौँ । एमाले घरमा पालेको बिरालो जस्तो हुनुहुँदैन । विपक्षीले कमजोर ठान्छ भने त्यसले ठूलो भूल गरेको हुन्छ ।’
नेकपा एमाले नङ्ग्रा फिँजाएर नहिँड्ने उल्लेख गर्दै ओलीले भने, ‘सिंहले जस्तो लुकाएर राखेको हुन्छ । आवश्यक परेको बेला प्रयोग गर्न पछि हट्दैन ।’