१५ असार २०८३, सोमबार
एकीकृत समाजवादीको बैठक

पार्टीका सांसदलाई माधव नेपालको सम्बोधन: 'कसैसँग एकीकरण गर्दैनौं, मजबुत पार्टी बनाउँछौं'

पार्टीका सांसदलाई माधव नेपालको सम्बोधन: 'कसैसँग एकीकरण गर्दैनौं, मजबुत पार्टी बनाउँछौं'

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल अरू कुनै पार्टीसँग एकीकरण नगर्ने र देशव्यापीरूपमा बलियो संगठन बनाउने बताएका छन् । 

पार्टी संसदीय दलको पहिलो बैठकलाई आइतवार बानेश्वरमा सम्बोधन गर्दै नेपालले केही व्यक्तिहरूले अरू दलमा बिलिन हुन गइरहेको हल्ला चलाएको भन्दै त्यस्तो भ्रममा नपर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

‘अहिले नै कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौं । अरूको टाङमुनि छिर्न गइरहेका छन्, बिलिन हुन गइरहेका छन्, भन्ने हल्ला चलाएका छन्, ती सबै वाहियात कुरा हुन् । गाउँ–गाउँसम्म हाम्रो पार्टी संरचना छ । त्यसलाई मजबुत बनाउँछौं । कम्युनिस्ट दृष्टिकोणबाट विचलित हुने छैनौं’, अध्यक्ष नेपालले भने । 

कतिपयले नयाँ पार्टीको भविष्य छैन भन्ने गरेको भन्दै उनले त्यसको पनि प्रतिवाद गरे । ‘नयाँ पार्टीको भविष्य छैन भन्ने गरेका छन्, म प्रश्न गर्न चाहन्छु– केशरजंग रायमाझीको पार्टीबाट पुष्पलालले विद्रोह नगरेको भए कम्युनिस्ट आन्दोलन के हुन्थ्यो ?’, उनले भने, ‘कम्युनिस्ट आन्दोलन नै बिलिन हुन्थ्यो । विद्रोह गरेका कारण कम्युनिस्ट आन्दोलन जोगियो । केशरजंगको पार्टी बिलिन भयो ।’

कम्युनिस्ट आन्दोलन बचाउनकै लागि विभिन्न समयमा पार्टीभित्र विद्रोह भएको उनले बताए । 

‘मनमोहन अधिकारी, महोनविक्रम, तुल्सीलालले विभिन्न समयमा विद्रोह गरेर फरक–फरक समूह बनाए । झापा विद्रोह भयो । पछि माओवादी विद्रोह भयो । त्यसले कम्युनिस्ट आन्दोलन, राष्ट्रियता बचायो’, नेपालले भने, ‘त्यसबेला पनि व्यवस्थाका विरुद्धमा चालिएका कदमको पक्षपोषण भएपछि पार्टीबाट विद्रोह गर्नुपरेको थियो । अहिले पनि केपी ओलीले व्यवस्थाविरुद्ध गतिविधि गरेकाले विद्रोह गर्नुपरेको हो ।’

पार्टीभित्रको फोहोर फालेर सफा बनाउँदा सबैको आकर्षणको केन्द्र हुने नेपालले बताए । ‘शरीरभित्रको फोहोर जति फाल्यो त्यति सफा हुन्छ । कोठाको भित्रको कसिङ्गर जति फालियो त्यति सफा हुन्छ । आकर्षणको केन्द्र हुन्छ । आन्दोलनको नेतृत्व गर्न सक्छ’, उनले भने । 

सांसद र जनप्रतिनिधिको हैसियत बचाउनकै लागि पार्टी दर्ता गर्न ढिला गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्