
काठमाडौं उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मंगलबजारमा अवस्थित कृष्ण मन्दिरमा सोमवार भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ ।
हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सोमवार सर्वसाधारणलाई मन्दिर छिर्न नदिने भएको हो ।
यो वर्ष पनि गत वर्ष झैँ कोभिड सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए । आवश्यक अनि सीमित व्यक्ति बसेर पूजापाठ आदि कर्म गर्ने उनको भनाइ छ । मन्दिर दिनभरि खुला रहन्छ तर मानिसलाई भने भित्र छिर्न नदिइने उनले बताए ।
यही भदौ १ गते ललितपुरका विभिन्न गुठी तथा जात्रा अनि पर्व चलाउने व्यक्तिसँग बसी यो वर्ष आउँदा पर्वमा मात्र विधि गर्ने छलफल भइसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।