
नेकपा एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बनेपछि मोरङमा स्थानीय तहका जनप्रतिनिधिहरू अन्योलमा परिरहेका छन् ।
भदौ २२ भित्रमा राजनीतिक दल छानिसक्नु पर्नेछ । नेकपा एमाले हुँदा मोरङमा माधव नेपाल पक्षमा खुलेका स्थानीय तहका जनप्रतिनिधिहरू अहिले अलमलमा परिरहेका छन् ।
एमालेमा हुँदा मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप राई र केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति भुजेल माधव नेपाल पक्षमा खुलेका थिए ।
१७ स्थानीय तहमध्ये एमालेले बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी, मिक्लाजुङमा प्रमुख र उप–प्रमुख दुवै पदमा जितेको थियो । त्यस्तै ग्रामथानमा प्रमुख, लेटाङ, केराबारी, सुन्दरहरैँचा, उर्लाबारी, रतुवामाईमा उपप्रमुख एमालेका उमेदवारले जितेका थिए ।
कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले र मिक्लाजुङ गाउँपालिकाका प्रमुख देवीप्रसाद आचार्य भने पहिलादेखि नै ओली खेमामा खुलिसकेका थिए । एमालेबाट जितेका उप–प्रमुखहरूमध्ये केराबारी गाउँपालिकाकी उपाध्यक्ष मात्रै माधव नेपाल पक्षमा थिइन् ।
ग्रामथान गाउँपालिका प्रमुख शिवनारायण माझी भने अहिलेसम्म कसैको भेला बैठकमा नगएको बुझिएको छ । केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति भुजेलले आफू एकीकृत समाजवादीमा खुलिसकेको बताएकी छन् ।
यस्तै बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीसहितका एमालेबाट जितेका बहुमत जनप्रतिनिधि एकीकृत समाजवादीमा खुलिसकेको उनी निकट स्रोतले जनाएको छ ।
यस्तै पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले भने अहिले नै निर्णय भइनसकेको प्रतिक्रिया दिएका छन् । नेकपा (एस)को जिल्ला कमिटीको बैठकमा भने सुवेदी र राईसहितका बहुमत जनप्रतिनिधि आउने रिपोर्टिङ गरिएको थियो ।
दुई जना प्रमुख र एक जना उपप्रमुख खुलिसकेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले बताए । उनले प्रदेश सांसदको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएपछि स्थानीय तहका जनप्रतिनिधिहरू खुल्ने बताए ।
स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले फोन गरिरहेका छन् । ‘मैले तपाईंहरूलाई पनि सहयोग गरेको छु, तपाईंहरूले पनि तपाईंका क्षेत्रका माननीयज्यूहरूलाई सम्झाइदिनु पर्यो भन्नुहन्छ,’ एमालेकै एक मेयरले भने, ‘पहिला प्रतिगमनका विरुद्धमा उठ भन्नुभयो अहिले उहाँले पद पाएपछि भनेको कसले मान्छन् ?’ ती मेयरका अनुसार अहिले मुख्यमन्त्री आचार्यलाई नै अप्ठ्यारो परिरहेको छ ।