
आज भाद्र कृष्ण अष्टमी । भगवान् श्रीकृष्णको जन्मतिथि । आजको मध्यरातमा श्रीकृष्ण वसुदेव र देवकीको सन्तानका रूपमा मथुरास्थित कंसको कारागारमा जन्मनुभएको थियो ।
श्रीकृष्णको जन्मको वर्णन श्रीमद्भागवत महापुराणको दशमस्कन्धको तृतीय अध्यायमा निकै सुन्दरताका साथ गरिएको छ । पुराण रचयिता वेदव्यासले समाधिभाषामा लेख्नुभएकाले श्रीकृष्णका लीलाहरूको वर्णनमा अनुपम माधुर्य पाइन्छ ।
जन्मलाई वर्णन गर्ने तृतीय अध्यायका शुरूका आठ श्लोकको यहाँ चर्चा गरिनेछ ।
अथ सर्वगुणोपेतः कालः परमशोभनः ।
यह्र्येवाजनजन्मक्र्षं शान्तक्र्षग्रहतारकम् ।।१।।
परम सुन्दर र सर्वगुणसम्पन्न समय आयो । रोहिणी नक्षत्रको उदय भयो । अश्विन्यादि सबै नक्षत्र, ग्रह र तारागण शान्त भए ।
दिशः प्रसेदुर्गगनं निर्मलोडुगणोदयम् ।
मही मङ्गलभूयिष्ठा पुरग्रामव्रजाकरा ।।२।।
सबै दिशाहरू निर्मल भए र आकाशमा कान्तियुक्त तारागण टल्कन लागे । नगर, गाउँ, गाईगोठ, रत्नादिका खानी सहित पृथ्वी मंगलमयी भइन् ।
नद्यः प्रसन्न सलिला हृदा जलरुहश्रियः ।
द्विजालिकुलसन्नादस्तवका वनराजयः ।।३।।
नदीहरूको जल निर्मल भयो । फक्रेका कमलहरूले सरोवरहरूको शोभा बढ्यो । वनजंगलमा चरा र भमराहरूको गुञ्जन सुनियो अनि फूलका गुच्छा फक्रिए ।
ववौ वायुः सुखस्पर्शः पुण्यगन्धवहः शुचिः ।
अग्नयश्च द्विजातीनां शान्तास्तत्र समिन्धतः ।।४।।
परमसुखदायक सुगन्धयुक्त स्वच्छ वायु बग्न लाग्यो र अग्निहोत्र गृहमा ब्राह्मणका सञ्चित होमानल शान्त भएर फेरि स्वयं प्रज्वलित भयो ।
मनांस्यासन्प्रसन्नानि साधूनामसुरद्रुहाम् ।
जयमानेऽजने तस्मिन्नेदुर्दुन्दुभयो दिवि ।।५।।
देवतागण र साधुजनको चित्त प्रसन्न भयो । अनि अजन्मा भगवानको आविर्भाव हुने बेलामा आकाशमा देवताका दुन्दुभी बाजा बज्न लागे ।
जगुः किन्नरगन्धर्वास्तुष्टुवुः सिद्धचारणाः ।
विद्याधर्यश्च ननृतुरप्सरोभिः समं तदा ।।६।।
किन्नर र गन्धर्वहरू गीत गाउन थाले । सिद्ध, चारण आदिले स्तुति गर्न थाले । अप्सरागण तथा विद्याधरहरू नाच्न लागे ।
मुमुचुर्मुनयो देवाः सुमनांसि मुदान्विताः ।
मन्दं मन्दं जलधरा जगर्जुरनुसागरम् ।।७।।
देवता र मुनिगण आनन्दले भरिपूर्ण भएर पुष्पवृष्टि गर्न थाले । समुद्र तथा मेघगण मन्द स्वरले गर्जन गर्न थाले ।
निशीथे तम उद्धूते जायमाने जनार्दने ।
देवक्यां देवरूपिण्यां विष्णुः सर्वगुहाशयः ।।८।।
जसरी पूर्व दिशामा चन्द्रमाको उदय हुन्छ, जनार्दन भगवानको अन्धकारमयी अर्धरात्रिमा प्रकट हुनुभयो । देवीरूपिणी देवकीको गर्भबाट अन्तर्यामी भगवान् विष्णु प्रकट हुनुभयो ।
यसरी श्रीकृष्णको जन्मको पृष्ठभूमिमा वेदव्यासले प्रकृतिले हर्षोल्लास गरेको वर्णन गर्नुभएको छ । युगपुरुष भगवान् श्रीकृष्णको जन्म भक्तहरूलाई आनन्द प्रदान गर्न तथा दुष्टहरूको विनाश गर्नका लागि भएकाले उहाँको स्वागतमा पृथ्वी तथा चराचर जगत् प्रफुल्लित भएको वर्णन गरिएको हो ।
दुष्टहरूको भारले गर्दा आक्रान्त भएकी पृथ्वीले भगवान् विष्णुलाई पुकारा गरेको अनि भगवानले अवतार लिएर दुष्ट दैत्यहरूको संहार गर्ने प्रतिज्ञा गरेको प्रसंग श्रीमद्भागवतमा त्यसअघि नै आउँछ । त्यो प्रतिज्ञा पूरा गर्ने हेतुले भगवान् श्रीकृष्ण प्रकट हुने निश्चित भएपछि पृथ्वी तथा प्रकृतिले आनन्द मनाएको वर्णन भागवतमा गरिएको हो ।
भागवतमै दैत्यहरूको जन्म हुँदा कर्कश ध्वनि सुनिएको, प्रकृति उदास जस्तो देखिएको वर्णन छ । अर्थात् खराब शक्ति पृथ्वीमा आउँदा प्रकृतिले नै त्यसलाई मन नपराएको वर्णन पाइन्छ ।
यसरी दैवी आनन्दको भावलाई वर्णन गर्नका लागि वेदव्यासले अपनाउनुभएको शैलीलाई पश्चिमी साहित्यमा अब्जेक्टिभ कोरिलेटिभ सिद्धान्त भनी चिनिन्छ । अमेरिकी चित्रकार तथा कवि वाशिङटन एलस्टोनले आरम्भमा उपयोग गरेको यो शब्दावलीलाई पछि महान् कवि टीएस इलियटले प्रख्यात बनाएका थिए ।
अब्जेक्टिभ कोरिलेटिभ भन्नाले प्रतीकहरूको माध्यमहरूले कुनै विशेष भावलाई जगाउने कलात्मक प्रविधि हो । श्रीकृष्णको जन्मप्रसंगमा प्रकृतिका विभिन्न घटकको सुखद क्रियाकलाप भक्तजनको हृदयमा छाएको आनन्दलाई प्रतीक बनाएर वर्णन गरिएका हुन् ।
पश्चिमी साहित्यमा मानिसको भावलाई प्राकृतिक घटनाको प्रतीकसँग जोडिएको उम्दा रचना नाइजेरियाली लेखक चिनुआ अकेबेको कथा म्यारिज इज ए प्राइभेट अफेयर हो । उक्त कथामा ओकेके नामक पात्रको छोरा नेमेकेले अर्कै जातीय समुदायकी महिला नेनेसँग प्रेमविवाह गरेपछि ओकेकेले उनीहरूलाई आफ्नो जीवनबाट बहिष्कार गर्छन् ।
पछि नेमेके र नेनेका सन्तानले हजुरबुवाको बारेमा सोध्न थालेपछि नेनेले ओकेकेलाई पत्र लेखेर नातिहरूलाई भेट्न अनुरोध गर्छिन् । त्यसपछि ओकेकेको हृदयमा तीव्र वेदना प्रकट हुन्छ र उनी भावविह्वल हुन्छन् । उनले पत्र पढ्दैगर्दा पानी पर्न थाल्छ अनि चट्याङ पनि पर्छ । यसरी ओकेकेको व्यथालाई वर्षाले अभिव्यक्त गर्नु अब्जेक्टिभ कोरिलेटिभको अनुपम उदाहरण हो ।
सनातन धर्मको पवित्र ग्रन्थ श्रीमद्भागवतमा आउने श्रीकृष्णको जन्मप्रसंग साहित्यको उच्चतम अभिव्यक्ति हो । देवर्षि नारदको प्रेरणाले श्रीकृष्णचिन्तन गरी समाधि अवस्थाको आनन्दातिरेकमा वेदव्यासले रचना गरेको श्रीमद्भागवतमा यस्ता सुन्दर तथा सुललित प्रसंगहरू धेरै ठाउँमा भेटिन्छन् ।
श्रीकृष्णको प्राकट्य लीलाको स्मरण गर्ने आजको पवित्र दिनमा कृष्णजन्मप्रसंगको चर्चा गरेर श्रीमद्भागवतको रसास्वादनका लागि प्रेरित गर्ने पंक्तिकारको प्रयास हो ।