काठमाडौं, १५ पुस- सभामुख ओनसरी घर्तीले संविधान संशोधनलगायतका विषयमा तीन दिनभित्र सहमति गरेर संसद् खुलाउन दलहरूलाई पुनः आग्रह गरेकी छिन् । सकेसम्म संशोधनमा सहमति, नभए प्रक्रियामा जान सहमति गर्न उनले आग्रह गरेकी हुन् । दलबीच सहमति नभएमा एकैदिन पटक–पटक बैठक राखेर सदनभित्रै सहमतिको पहल गरिने उनले बताएकी छिन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख घर्तीले सहमति गरेर संसद् खोल्न आग्रह गरेकी थिइन् । ‘संसद् नियमित चल्नुपर्नेमा त्यसको विपरीत अवरुद्ध भइरहेको छ, यो सुखद पक्ष होइन । मैले दलहरूलाई तीन दिनभित्र सहमति गर्न समय दिएकी छु,’ बैठकपछि उनले पत्रकारसँग भनिन्, ‘तीन दिनभित्र सहमति हुन्छ भन्ने विश्वास छ । विषयमा सहमति नभए प्रक्रियामा सहमति गर्नुहोस् भनेकी छु । त्यो पनि नभए १८ गतेको संसद् बैठकमै एकैदिन केही ग्याप राख्दै लगातार दुई–तीन बैठक राख्दै अगाडि बढ्नेछु ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध नहटेसम्म उपत्यकाबाहिर नजाने बताएका छन् । निकासका लागि दलहरूसँग निरन्तर छलफल बस्ने उनले सभामुख ओनसरी घर्तीलाई बताएका छन् । ‘प्रधानमन्त्रीले अब संसद्को गतिरोध नफुकेसम्म भ्यालीबाहिर नजाने बताउनुभएको छ,’ घर्तीले भनिन्, ‘मलाई विश्वास छ, अब दलहरूले योबीचमा घनीभूत छलफल गरेर सहमति निकाल्नुहुनेछ ।’