तपाईंले कार वा बाइक वा बस नै पनि धकेलेर स्टार्ट गराएको दृश्य त धेरैपटक देख्नुभएको होला ।
तर भारतको मध्य प्रदेशमा ट्रेनलाई धक्का दिएर अगाडि बढाइएको अनौठो भिडियो सार्वजनिक भएको छ । हरदा जिल्लामा एउटा ट्रेन बिग्रेपछि लगभग ५० जना मजदूरले त्यसलाई धक्का दिएर अगाडि बढाएका छन् ।
टिमरनी स्टेसन नजिक ट्रेनको वागनमा रहेको इन्जिनमा प्राविधिक खराबी आएको थियो । अनि ट्रेन त्यहीँ रोकियो । ट्य्राकमा अन्य ट्रेनहरू आइरहेका थिए । तिनलाई बीचैमा रोक्नुपरेको थियो ।
मेन लाइनबाट ट्रेन हटाउनका लागि मजदूरहरूलाई बोलाइयो ।
मजदूरहरूले ट्रेन धकेल्न थाले । आरम्भमा त टावर वागन हल्लिँदा पनि हल्लिएन । पछि थप मजदूर ल्याएर धकेल्न लगाएपछि ट्रेनलाई ३०० मिटर पर लूप लाइनमा पुर्याइयो । अनि बल्ल अन्य ट्रेन पनि गुड्न पाए ।
ट्रेन टो गर्ने कुनै यन्त्र नभएपछि मजदूरको शारीरिक बल प्रयोग गर्नुपरेको थियो । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
भिडियो सौजन्य : नवभारत टाइम्स