काठमाडौँको एउटा भीआईपी क्षेत्र जाने सडक हो याे, जहाँ धनाढ्यहरूको बसोबास छ । त्यति मात्र होइन मन्त्रीहरूका लागि बनाइँदै गरेको क्वार्टर पुग्ने सडक पनि यही हो ।
प्रत्येक घण्टा जसो नेता, व्यापारी र मन्त्रीहरूको बाक्लै ओहोरदोहोर भइरहने यो सडक हो नक्खु सडक । तर, हेर्नुहोस् त हिलो अनि खाल्डोले सडकको कस्तो दुर्दशा भएको छ ? यतिसम्म हुँदा पनि चिल्ला गाडीभित्र सवार उनीहरूलाई भने कुनै परवाह छैन ।
चालकहरू लडिएला कि भनेर हिलोपानीमै सम्हालिँदै सवारीसाधन चलाउन बाध्य छन् । कतिपय स्कुटर चालक त लड्छन् पनि । नजिकका पसल र त्यहाँ हिँड्ने सर्वसाधारण अझै समस्यामा छन् । त्यसै त यो सडक उकालो-ओरालो छ, त्यसमाथि सडकको यो दूरावस्था ।
सडकमा धेरै खाल्डाखुल्डी भएपछि कतिपय व्यापारीले आफ्नो पसल अगाडि त्यसलाई सम्याएका पनि थिए । तर, बनाउने भनेर सम्याइएको सडक भत्काएको वर्षदिन नाघिसक्दासमेत कुनै सुरसार नभएको फर्निचर व्यापारी धीरज साह बताउँछन् ।
वर्षात् होस् वा घाम यो सडक भएर हिँड्नेले जहिल्यै सास्ती भोग्नु पर्छ । घाम लाग्दा धूलो र पानी पर्दा हिलोले सास्ती हुने विगत १५ वर्षदेखि म:म पसल सञ्चालन गरिरहेका जगत पौडेलको गुनासो छ ।