
कोरोना महामारीका कारण यस वर्षको राधाकृष्ण रथयात्रा खटयात्रामा सीमित भएको छ । सीमित व्यक्तिको उपस्थितिमा यस वर्ष विराटनगरमा राधाकृष्णको खटयात्रा गरिएको हो ।
राधाकृष्णको मूर्ति राखिएको खटलाई गाडीमा राखेर राधाकृष्ण मन्दिरबाट शुरू भएको खटयात्रा तीनपैनी, ट्राफिक, रोडशेष, बरगाछी, राजवंशी चोकबाट पुष्पलाल चोक हुँदै मन्दिर परिसरमा आएर सम्पन्न भएको छ ।
मन्दिरका पुजारी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलगायतका केही व्यक्तिहरूले औपचारिक रुपमा पूजाआजा गरेर खटयात्रा गरेका थिए ।
हजारौं भक्तजनले रथको डोरी तानेर विराटनगर परिक्रमा गराउने रथयात्रालाई खटयात्रामा सीमित गरेपछि भक्तजनहरूले सडक वारिपारि उभिएर टाढाबाटै दर्शन गरेका थिए ।
कोरोना संक्रमणलाई दृष्टिगत गरी यसअघि चोकचोकमा रथ रोकेर भक्तजनहरूलाई पूजा गर्न दिने व्यवस्थामा समेत यस पटक रोक लगाइएको थियो । राधाकृष्ण मन्दिरबाट शुरू भएको खटयात्रा पुनः मन्दिर परिसरमै आएर रोकिएको थियो ।
विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट १९८८ सालदेखि राधाकृष्णको खटयात्रा निकाल्ने परम्परा चलिआएको छ । खटयात्रालाई परिस्कृत गरी २०२४ सालदेखि रथयात्रा निकाल्दै आएको थियो ।