
काठमाडौं महानगरपालिकाले २ हप्तादेखि रोकिएको काठमाडौं उपत्यकाको फोहर भोलि बुधवारदेखि उठाउने भएको छ ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको बैठकले फोहर उठाउने निर्णय गरेको हो ।
करीब २ हप्तादेखि उपत्यकाको फोहर नियमितरूपमा उठ्न सकेको छैन । कामपासहित उपत्यकाका १८ स्थानीय तहको फोहर उठ्न नसक्दा शहरका सडक, गल्ली, चोक र नदी किनारमा फोहरको डंगुर छन् ।
प्रमुख शाक्यले फोहर व्यवस्थापन गर्ने जिम्मेवारी कामपाको मात्रै नभई सम्पूर्णको समस्या रहेको भन्दै त्यसको सकारात्मक समाधानका लागि लागि सबैतिरबाट अपेक्षा गरेको बताए ।
सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने निर्णय भएको पनि कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
सिसडोलका स्थानीय व्यक्तिका समस्याका विषय पनि समाधान गरिने श्रेष्ठले जानकारी दिए । ‘फोहर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर अघि बढिने छ ।’
शहरी विकास मन्त्रालयले अर्काे १ हप्ताभित्र निर्माणाधीन बञ्चरेडाँडामा फोहर राख्न सकिने जनाएको छ । पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए ।
कामपाले गत साउन ३२ गतेदेखि नै सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । सो सूचना सार्वजनिक भएको २ हप्तापछि फोहर उठ्न लागेको हो । सिसडोलमा विक्रम संवत् २०६२ सालमा २ वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो तर पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ ।