
बुटवल उपमहानगरपालिकाले इरिक्साको व्यवस्थापनका काम अगाडि बढाएको छ ।
ट्राफिक व्यवस्थापनमा मुख्य चुनौती बनिरहेको इरिक्सालाई उपमहानगरमा दर्ता गरेर नियामक निकायमा पठाइएपछि उपमहानगरको अर्को एउटा पहल सार्थक बनेको छ ।
उपमहानगरले जारी गरेको सूचना र त्यसको अवधिमा कागजात सहित आवेदन दर्ता गराएका एक हजार १८ वटा विद्युतीय इरिक्साहरुको ब्लुबुक तयार पार्ने र इजाजतका लागि अरु नियामक निकायमा सिफारिस गरिएको छ । बुटवल उपमहानगरमा दर्ता भएका, ब्लुबुक तयार भएका एक हजार १८ वटा मात्रै इरिक्सा चल्न पाउने छन् ।
बुटवल उपमहानगरले विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि( २०७६ नै बनाएर काम अगाडि बढाएको थियो । उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरेर व्यवस्थापनका काम अगाडि बढाइएको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ट) को खण्ड ४ को अधिकार कार्यान्वयन गर्न र सोही ऐनको दफा ११ को उपदफा ४ (ट) बमोजिम नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको दर्ता, अनुमतिका काम अगाडि बढाइएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।
इरिक्सामा पहिचान र दर्ता भएको प्रमाण झल्किने बुटवल उपमहानगरको स्टिकर टाँस गरिएको छ ।
उपमहानगरमा दर्ता भएका रिक्साहरूको नियमन व्यवस्थापनका लागि ट्राफिक प्रहरी कायार्लय र यातायात व्यवस्था कायार्लयमा पत्राचार गरिएको छ । यो संगै लामो समयदेखिको एउटा चुनौतिपूर्ण काम सफलतापूर्वक अगाडि बढेको छ ।