काठमाडौं, १ असार – दूई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णयलाई एमालेले हानिकार र त्रूटिपूर्ण निर्णय भन्दै विरोध गरेको छ ।

सत्तारुढ दल र राजपाबीच केहीबेर अघि बसेको बैठकले असार १४ गते दुई नम्बर बाहेकका प्रदेशमा मात्र चुनाव गर्ने निर्णय गरेसँगै एमालले त्यसको विरोध गरेको हो ।
एमाले सचिव प्रदिप ज्ञवालीले सरकारको निर्णय हानिकार र त्रुटिपूर्ण भएको बताए । ‘कुनै एउटा क्षेत्रको मात्र चुनाव सार्ने निर्णय हानिकार र त्रुटिपूर्ण छ,’ लोकान्तरसँग कुरा गर्दे ज्ञवालीले भने,‘देशको एउटा ठाउँमा एउटा नियम र अर्को ठाउँमा अर्को नियम लगाउन मिल्दैन यसले राष्ट्रिय एकतामा आँच पु-याउँछ ।’
ज्ञवालीले सरकारले नै मधेस अशान्त छ भन्ने भ्रम दिन खोजेको भन्दै यसले गम्भीर असर पु-याउने चेतावनी दिए ।
दुई नम्बर प्रदेशका जनतालाई मताधिकार प्रयोगमा सत्ता गठबन्धन र राजपाले पु-याएको अवरोधबारे जानकारी र सचेतना दिलाउने काममा एमाले केन्द्रित हुने ज्ञवालीले बताए ।