
काठमाडौं, १ असार — सुनिल ग्रोवरले डा मशहूर गुलाटी वा रिंकु भाभीको चरित्रबाट आजकल प्रशंसा बटुल्न नपाएपनि बलिउडका सुपरस्टार सलमान खानका रूपमा एक प्रशंसक भेटेका छन् ।

हालै सलमानले सुनिलका साथ 'सुपरनाइट विथ ट्युबलाइट'को शूटिङ गरेका थिए र यो चाँडै सोनी टीभीबाट प्रसारण हुँदैछ ।
प्रसिद्ध फिल्म समीक्षक अनुपमा चोपडाका साथ कुरा गर्दै सलमानले सुनिलको खुलेर प्रशंसा गरे । उनका अगाडि आफू अक्षम अभिनेता जस्तो लागेको सलमानले बताए । सुनिलको कमिक टाइमिङ गजबको भएको सलमान बताउँछन् ।
सुनिलले उक्त शोमा अमिताभ बच्चनको नक्कल उतारेका थिए । सलमान भन्छन्, ‘सोहेल र म सुनिललाई हेरिरहेका थियौं । उनले बच्चनको नक्कल उतार्दा दुरुस्तै अमिताभ देखिएका थिए । उनले बच्चनका सबै पक्षलाई समेट्न सकेका थिए ।’
सलमानले 'ट्युबलाइट' फिल्मको जोडतोडका साथ प्रमोसन गरिरहेका छन् भने सुनिल चाहिँ लाइभ शो र गिगमा व्यस्त छन् ।
एजेन्सी