
प्रयोग नै नगरेको बिजुलीको वक्यौता बाँकी रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणले बिल पठाएपछि उद्योगीहरू तनावमा छन् ।
हरेक वर्ष जरिवाना लगायत शीर्षकमा ३० प्रतिशत जोडेर बिल आउन थालेपछि आफूहरू आतंकित बनेको उद्योगीहरूको गुनासो छ ।
नेपाल धागो उत्पादक संघ अध्यक्षसमेत रहेका रिलायन्स स्पिनिङ्ग मिल्स अध्यक्ष पवन गोल्यानले विद्युत प्राधिकरणले वर्षैपिच्छे बिल पठाउने तर, विशेष बिजुली प्रयोग गरेको प्रमाण भने दिन नसकेको बताए ।
कुलमान किन देख्दैनन् आफैंले जारी गरेको सूचना
विद्युत् प्राधिकरणले २०७२ माघ १० गते सूचना जारी गर्यो । त्यसमा फागुन ११ बाट डेडिकेटेड फिडरमार्फत् बिजुली दिन नसकिने उल्लेख थियो । तर, सूचना जारी गरेको ४ वर्षसम्म पनि विद्युत प्राधिकरणले हरेक वर्ष बिजुलीको बाँकी बक्यौता नतिरेको भन्दै उद्योगी व्यवसायीहरूको नाम सार्वजनिक गर्दै आएको छ ।
२०७४ मा प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ आएपछि लोडसेडिङ पनि अन्त्य भयो र वासलातमा पनि नाफा देखियो । तर, कुलमानले चर्चाका लागि दिँदै नदिएको बिजुलीको बाँकी बक्यौता उठाउने भन्दै प्राधिकरणको वासलातमा नाफा देखाएको उद्योगीहरूको आरोप छ ।
धागो उत्पादक संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लोडसेडिङ अवधिमा उद्योगी व्यवसायीले विद्युत प्रयोग वा उपभोग गरेको तथ्य प्राधिकरणले पुष्टि गरिदिएको खण्डमा जे जति अवधि त्यस्तो अनधिकृत विद्युत् प्रयोग भएको तथ्य प्रमाणले पुष्टि हुन्छ सो अवधिबापतको थप रकम महशुल उद्योगी व्यवसायीले तिर्न बुझाउनबाट कानुनतः इन्कार गर्न सक्दैन र तिर्न बुझाउन सदैव तयार र तत्पर रहेको भएतापनि उद्योगी व्यवसायीको बारम्बारको अनुरोध पश्चात पनि प्राधिकरणले सो विवरण दिन सकेको छैन ।’
यस्तो छ विद्युत् प्राधिकरणले २०७२ माघ १० गते जारी गरेको सूचना
डेडिकेटेड फिडरसँग सम्बन्धित अत्यन्त जरुरी सूचना
विभिन्न सरकारी, निजी तथा सामुदायिक अस्पताल, सरकारी औद्योगिक/प्रतिष्ठान/निकाय एवं निजी औद्योगिक/प्रतिष्ठानहरु तथा अस्पतालहरुमा समेत नेपाल विद्युत् प्राधिकरणको नीति र मापदण्ड अनुरुप निर्वाध रुपमा विद्युत् आपूर्ति हुनेगरी डेडिकेटेड फिडरमार्फत विद्युत् आपूर्ति गरिँदै आएकोमा यस अवधिमा नदीहरुमा जलस्तर घट्न गई विद्युत् उत्पादन केन्द्रहरुबाट न्यूनरुपमा विद्यत् उत्पादन भइरहको र इन्धन तथा ग्यासको पर्याप्त आपूर्ति हुन नसकेको कारणले विद्युत् शक्तिमा अतिरिक्त भार थपिन गई थप संकट उत्पन्न भइरहेको छ ।
यसर्थ उल्लेखित यथार्थ अवस्थालाई मध्यनजर गरी अर्को निर्णय नभएसम्मका लागि नेपाल सरकारका विभिन्न निकाय तथा सरकारी कार्यालय/अस्पताल, सुरक्षा अंग तथा संवेदनशील निकायहरुबाहेकका निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठान/उद्योग/अस्पताल तथा नर्सिङ्गहोम आदिलाई डेडिकेटेड फिडरमार्फत विद्युत् आपूर्ति दिने कार्य स्थगित गरिएको र डेडिकेटेड फिडरमार्फत विद्युत आपुर्ति लिईरहेका निजी औद्योगिक/प्रतिष्ठान/अस्पताल लगायतका ग्राहकहरुलाई मिति २०७२/११/११ गतेदेखि लागू हुने गरी लोडशेडिङ्ग तालिकाभित्र रहने गरी विद्युत् आपुर्ति गर्ने व्यवस्था मिलाइने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।यसबाट सम्बन्धित पक्षहरुलाई पर्ने असुविधाका लागि प्राधिकरण क्षमाप्रार्थी छ ।