काठमाडौँ, २ असार - सरकारले जिल्लास्थित विषयगत कार्यालयलाई स्थानीय तह (गाउँपालिका र नगरपालिका)को मातहत हस्तान्तरण गर्न ढिलाइ गर्दा निर्वाचित जनप्रतिनिधिलाई काम गर्न असहज भएको छ ।
सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेशको २६ नं. बुँदामा स्थानीय तहको नियमित कार्य सञ्चालनका लागि स्थानीय विकास अधिकारी, गाउँ र नगरपालिकाका कार्यकारीबाहेक विभिन्न सेवामा रहेका कर्मचारीलाई समान्य प्रशासन मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सोझै स्थानीय तहमा कामकाज गर्न खटाउने उल्लेख छ ।
विषयगत कार्यालयका कर्मचारी स्थानीय तहको मातहत नआउँदा संविधानले दिएका अधिकारहरू स्थानीय तहसम्म आउन नसकेको र काम गर्न असहज भएको निर्वाचित जनप्रतिनिधिको गुनासो छ ।
धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्याञ्जुले स्थानीय तहका जनप्रतिनिधिलाई काम गर्न अप्ठ्यारो भएको बताए, गोरखापत्रमा खबर छ ।