
प्रतिनिधि सभामा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नको लागि तीन अध्यादेश पेश हुने भएका छन् ।
शुक्रवार स्वीकृत भएका बजेटसँग सम्बन्धित आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक पेश हुन लागेका हुन् ।
शुक्रवार प्रतिनिधि सभाको तेस्रो बैठकमा संसद नियमावलीका केही प्रावधान निलम्बन गरी प्रतिस्थापन विधेयक पेश गर्ने तयारी भएको संसद सचिवालय स्रोतले जानकारी दियो ।
'अबको बैठकमा आर्थिक विधेयक २०७८ र विनियोजन विधेयक २०७८ पेश गर्ने र दुई वटा शोक प्रस्ताव पारित गर्ने कार्यसूची बन्दैछ,' सचिवालय स्रोतले लोकान्तरसँग भन्यो ।
शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमाले सांसदको नाराबाजीका बाबजुद् अर्थमन्त्री जनार्दन शर्माले तीन अध्यादेश स्वीकृतिका लागि पेश गरेका थिए ।
ती अध्यादेश स्वीकृत भएका छन् । अध्यादेश संसदको सम्पत्ति बनेसँगै सरकारले प्रतिस्थापन विधेयक ल्याउन लागेको हो ।
पूर्ववर्ती सरकारले ल्याएको बजेटमा केही संशोधन गर्न अध्यादेश ल्याउनु परेको सरकारले जनाएको छ । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते अध्यादेशमार्फत बजेट ल्याएका थिए ।