२६ जेठ २०८३, मंगलबार

शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्यक : सशस्त्र प्रहरी महानिरीक्षक खनाल

शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्यक : सशस्त्र प्रहरी महानिरीक्षक खनाल

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सबैको सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको अनुरोधमा मित्रराष्ट्र चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको आयोजनामा सेप्टेम्बर ८–९ सम्म भएको शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय अनलाइन कार्यशालालाई ‘सेफ्टी एण्ड सेक्युरिटी अफ यूएन पिस किपर्स’ विषयमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै उनले शान्तिका लागि सामूहिक प्रयासमा जोड दिए ।

महानिरीक्षक खनालले शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि एम्बुस तथा माइनहरूबाट सुरक्षित रहन पर्याप्त मात्रामा सचेतना र क्षमता अभिवृद्धि गर्नुपर्ने बताउँदै शान्ति स्थापनार्थ परिचालन पूर्वको तालिममा क्षति न्यूनीकरण गर्ने उपायबारे समेत प्रशिक्षण प्रदान गर्नुपर्ने बताए ।

शान्ति मिसनको कार्यादेशलाई प्रभावकारी ढंगले पूरा गर्नको लागि फर्म्ड पुलिस युनिट र इन्डीभिजुअल पुलिस अफिसरको रूपमा खटिने सुरक्षाकर्मीको लागि खटिनु पूर्व मिसन लक्षित तालिम सञ्चालन गर्नुपर्नेमा समेत उनले जोड दिए । यसरी तालिम प्राप्त र क्षमता भएका कर्मचारीहरू स्रोतसाधन सम्पन्न भई परिचालित हुँदा आफू सुरक्षित रही प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्न सकिने बताउँदै महानिरीक्षक खनालले बदलिँदो सुरक्षा परिस्थिति र चुनौतीलाई मध्यनजर गर्दै मिसन लक्षित पूर्व तयारीले यसमा खटिने कर्मचारीको सुरक्षामा सहयोग पुग्ने बताए ।

कुशल नेतृत्व, सामूहिक भावना र सहकार्य, अनुशासन, इमान्दारी, सही योजना, समन्वय तथा कमाण्डरको क्षमता नै शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि महत्त्वपूर्ण हुने कुरामा जोड दिँदै उनले संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरुको तर्फबाट गरिएका कार्यलाई सार्थक बनाउनको लागि यस प्रकारका सम्मेलन महत्त्वपूर्ण हुने समेत बताए ।

महानिरीक्षक खनालले आफ्नो सम्बोधनको क्रममा आफू शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकमा विभिन्न जिम्मेवारीमा रही खटिएको अनुभव स्मरण गर्दै मिसन इलाकामा प्रभावकारी इन्टेलिजेन्सको परिचालनले सम्भावित चुनौती र हुनसक्ने घटनालाई न्यूनीकरण गर्न सकिने भएकाले इन्टेलिजेन्स नेटवर्कलाई प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए ।

कार्यशालामा आयोजक राष्ट्र चीनका एक्जक्युटिभ भाइस मिनिस्टर वाङ झियाओहोङ, संयुक्त राष्ट्रसंघका उपमहासचिव जं पियर लाक्वा, युएन पुलिस एडभाइजर लुइस कारिल्हो लगायत अन्य उच्च अधिकारीका साथै फ्रान्स, जर्मनी, अर्जेन्टिना, बंगलादेश, पाकिस्तानसहित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा सहभागी भएर योगदान पुर्‍याउने विभिन्न देशका उच्च अधिकारीको सहभागिता रहेको कार्यक्रममा महानिरीक्षक खनालसहित जम्मा ६ जना उद्घाटन सत्रको प्रमुख वक्ताको रूपमा रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्