०५ असार २०८३, शुक्रबार

पूर्व राजदूत राणाको निधन

भदौ २६, २०७८
पूर्व राजदूत राणाको निधन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन भएको छ ।

उनको शुक्रवार राति ८५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौंको बत्तीसपुतलीमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मिर्गौला प्रत्यारोपणपछि राणा नियमितरूपमा डायलायसिस गर्दै आएका थिए ।

राणाले राखेपको २ पटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गरेका थिए । उनी पहिलोपटक विक्रम संवत् २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विक्रम संवत् २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव रहेका थिए ।

राणा विक्रम संवत् २०५९ सालमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष समेत बनेका थिए । एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरूप मानार्थ अध्यक्ष बनाएको थियो ।

राणाले अखिल नेपाल फूटबल संघ (एन्फा)को कार्यबाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए भने नेपाल तेक्वान्दो संघ र नेपाल एथलेटिक्स संघको समेत अध्यक्ष रहेका थिए ।

नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा रहेका राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूत समेत रहेका थिए ।

राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकसमेत थिए । उनको शनिवारै पशुपतीस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्