०१ असार २०८३, सोमबार

महिलाले सम्हालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

भदौ २६, २०७८
महिलाले सम्हालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

सामुदायिक विद्यालय नजिकै १ किलोमिटरभित्रै निजी विद्यालय छ । तर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण छ । यसको कारण हो – महिला नेतृत्व ।

अधिकांश अभिभावकले बालबालिकालाई निजी स्कूलमा पढाउने रुचि राख्ने गरेको बेला मोरङको बेलबारी–२ स्थित सिंहदेवी आधारभूत विद्यालय आकर्षणको केन्द्र बनेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छिन् खिना थापा बस्नेत ।

बेलबारी नगरपालिकाकी कार्यपालिका सदस्य रहेकी बस्नेत नगरपालिकाको प्रतिनिधिका रूपमा विद्यालय व्यवस्थापन समितिमा आएर अध्यक्ष बनेकी हुन् । विद्यालयमा पढाइभन्दा धेरै राजनीति हुने गरेको सुनेकी बस्नेतले विद्यालय सुधार्ने अठोट गरिन् । अध्यक्ष बस्नेतसँगै विद्यालय व्यवस्थापन समितिमा सबै महिला चुनिए र महिलाहरूकै अगुवाइमा विद्यालयले आशा जगायो ।

बस्नेत नेतृत्वको व्यवस्थापन समितिले विद्यालयमा शिक्षक पनि महिला मात्रै राख्ने योजना बनायो । ‘व्यवस्थापन समितिमा महिला मात्रै आएपछि शिक्षक पनि महिला मात्रै बनाउने भन्ने योजना बनाएर नगरपालिका गएर नगर प्रमुख र शिक्षा शाखा प्रमुखलाई मेरो योजना सुनाए । मेरो योजना सुनेपछि उहाँहरूले अचम्म मान्दै ‘विद्यालय सञ्चालनमा समस्या हुदैन ?’ भनेर प्रश्न गर्नुभयो,’ उनले भनिन्, ‘मेरै योजनाअनुसार उहाँहरूले पनि सहयोग गर्नुभयो । महिलाले मात्रै सञ्चालन गरेको विद्यालय नमूना बनाऔं भनेर बैठक बसेर नीति तथा योजना बनाएर अगाडि बढ्यौं ।’

नयाँ योजना लागू गर्न सजिलो नभएपनि सबै मिलेर सुधार गरिएको उनले बताइन् । ‘हामीलाई सजिलो थिएन, सबै जना गाउँकै भएकाले गाउँघरका विद्यार्थीलाई कन्भिन्स गर्न थाल्यौं । भौतिक संरचना समेत अस्तव्यस्त थिए,’ उनले भनिन्, ‘पानी परेपछि विद्यार्थी घर पठाउने अवस्था हुँदो रहेछ । पुरानो टिन भएकाले पानी चुहिन्थ्यो । तत्कालै अरु सदस्यलाई पनि खबर गरेर बैठक बसेर टिन फेर्न अनुरोध गर्दै नगरपालिकालाई पत्र पठायौं ।’

नगरपालिकाको सहयोग र अन्य स्रोतबाट छानो मर्मत गरेपछि विद्यार्थीलाई सहज भएको उनले बताइन् । ‘हामीले विभिन्न स्रोत जुटाएर संरचना बनायौं र पढाइको गुणस्तर र विद्यार्थी कसरी बढाउने भन्ने चिन्ता हुन थाल्यो,’ उनले भने ।

विद्यार्थी संख्या बढाउन घरघरमा गएर निजी स्कूलजस्तै पढाउने वाचा गर्नुपरेको प्रधानाध्यापक कमला निरौलाले बताइन् । ‘भोलि पढाउने विषय आजै तयारी गरेर आउनुहोला भनेर शिक्षकलाई पनि भनें र आफू पनि तयारी गरेर आएँ,’ उनले भनिन्, ‘पढाइप्रति अभिभावकलाई चित्त बुझ्न थालेछ, ६९ जना विद्यार्थीबाट अहिले ११२ जना विद्यार्थी पुगेका छन् ।’

कोरोना महामारीसँगै जारी लकडाउनको समयमा पनि घरघरमा गएर विद्यार्थीलाई समूह–समूहमा बाँडेर पढाएको विद्यालयले जनाएको छ । 

‘विद्यालयलाई सरस्वतीको मन्दिर पनि भन्ने गरिन्छ, एउटा मन्दिर पनि रहेनछ,’ अध्यक्ष खिनाले भनिन्, ‘मन्दिर बनाउन कोसँग माग्न जाने ? कार्यपालिका सदस्य भएबापत आएको सेवासुविधा मैले चलाएको थिइनँ । त्यही पैसा ल्याएर १ लाख २५ हजारमा मन्दिर बनाएँ र ५० हजार रुपैयाँको अक्षयकोष पनि स्थापना गरें ।’

विद्यालयमा खेलौना, पुस्तकालय तथा खेल मैदान व्यवस्थित नभएको पाइएपछि सबै मिलेर सुधार गरिएको उनले बताइन् । ‘टीम मिल्यो भने केही गर्न सकिँदो रहेछ जस्तो लाग्छ,’ उनले भनिन्, ‘अझै पनि हामीले सोचेजस्तो भएको छैन तर महिलाले मात्रै सञ्चालन गरेको विद्यालय, आहा ! भन्ने बनाउने योजना छ ।’

विद्यालय व्यवस्थापन समितिमा खिना थापा, मिना कार्की, दिलु नेम्वाङ, लक्ष्मी कार्की, शान्ति उराउ, शर्मिला परियार, सुशिला क्रिख्यासन रहेका छन् भने शिक्षकमा गीता सुवेदी, कमला निरौला, तारादेवी राउत, बाल विकास शिक्षक कमला बस्नेत, निजी स्रोतबाट अनिता राई रहेकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्