
पछिल्ला दिनमा नेपाल टेलिकमको ‘भ्वाइस’ सेवामा समस्या देखिएको छ ।
टेलिकमको मोबाइल नेटवर्कमा कहिले फोन नलाग्ने, कहिले फोनमा बोलिरहँदा बीचमै सम्पर्क टुट्ने समस्याले उपभोक्ता हैरानीमा परेका छन् ।
काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत टेलिकमको सीममा समस्या देखिएको छ ।
‘टेलिकमको सीममा बोल्दाबोल्दै फोन काटियो,’ एक प्रयोगकर्ताले लोकान्तरसँग भने ।
यो समस्या एक जनाको मात्र होइन, धेरै उपभोक्ताले यस समस्याबाट प्रभावित भएको गुनासो गरेका छन् ।
साधारण समयमा नेटवर्क देखाइरहने ठाउँमा पनि केही समयमा नेटवर्क हराउने गरेको बताइएको छ ।
कतिपय अवस्थामा फोनमा बोलिरहँदा समेत फोन काटिने गरेको उपभोक्ताको गुनासो छ ।
सोमवार पनि थियो समस्या
मंगलवार मात्र नभई सोमवार पनि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । बिहान करीब १० बजेबाट करीब १ बजेसम्म समस्या देखिएको प्रयोगकर्ताहरूले जनाएका छन् ।
टेलिकमको यस्तो समस्या बेलाबखत आइरहँदा हैरानी खेप्नुपरेको प्रयोगकर्ताले जनाएका छन् ।
टेलिकमले भन्यो – समस्या समाधान भइसक्यो
टेलिकमले मंगलवार फोनकलमा कुनै पनि समस्या नरहेको जनाएको छ । ‘मंगलवार उपभोक्ताले गुनासो गरेको पनि पाइएको छैन, समस्या पनि फेला परेको छैन,’ टेलिकमका प्रवक्ता राजेश जोशीले लोकान्तरसँग भने ।
उनका अनुसार सोमवार केही समय टेलिकमको नेटवर्कमा समस्या आएको थियो ।
‘हिजो हाम्रो ट्रान्समिसन नेटवर्कमा खराबी भएको थियो,’ प्रवक्ता जोशीले भने, ‘बिहान करीब साढे १० बजेदेखि झण्डै २ घण्टा यस्तो समस्या देखिएको थियो ।’
सोमवार दिउँसो काठमाडौं बाहिरको नेटवर्कमा समस्या आउँदा सबैतिर केही प्रभाव परेको उनले बताए । ‘काठमाडौं बाहिरको नेटवर्कमा समस्या आउँदा अन्य स्थानमा पनि त्यसको असर पर्छ, हिजो करीब २ घण्टाजति यो समस्या आएको थियो,’ प्रवक्ता जोशीले भने ।
देखिएको समस्या सामान्य भएको समेत टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार नेटवर्कको कुनै भागले काम नगर्दा त्यस्तो समस्या आउने गर्छ । टेलिकमले त्यस्तो केही समस्या देखिएमा टेलिकममा खबर गरिदिन समेत आग्रह गरेको छ ।
सकभर समस्या आउनै नदिने र समस्या आएमा पनि यथाशीघ्र समाधान गर्ने गरी काम भइरहेको समेत टेलिकमले जनाएको छ ।