ललितपुरको सातदोबाटो–गोदावरी रुटमा पर्ने ठैबभन्दा अलि माथि पर्ने गोदामचौरका स्थानीय वासिन्दा हुन् राम कार्की । उनलाई दैनिकजसो घरदेखि लगनखेलसम्म ओहोरदोहोर गरिरहनुपर्छ ।
पहिला आफ्नै गाडीमा २० मिनेटमा लगनखेल पुग्ने उनलाई बाटोको खराब अवस्थाका कारण हिजोआज करीब डेढ घण्टा लाग्ने गरेको छ । कारण हो, अस्तव्यस्त सडक । जुनसुकै सरकार आए पनि सडकको अस्तव्यस्ततामा कसैको नजर पुग्दैन ।
कार्की जस्तै पीडित छन्, राजकुमार श्रेष्ठ । उनी भन्छन्, ‘धुलो खाँदाखाँदा जहिल्यै बिरामी परिन्छ ।’
उनले बाटोको दुर्गति सहन नसकेर सामाजिक सञ्जालमा स्टाटस नै लेखेका छन्, ‘यो सडक पञ्चायतकालमा भीआईपी सडक तर अहिले गणतन्त्रकालमा खाते सडक ।’
सातदोबाटो–गोदावरी रुटमा पर्ने हरिसिद्धिदेखि बाडेगाउँ हुँदै ठैबसम्मको सडकमा कतै गिट्टीबालुवा थुपारेर छाडिएको छ भने कतै एक लेन मात्र पिच गरेर छाडिएको छ, कतै खाल्डो । झन् बर्खाको समय भएर होला, त्यहाँ पुग्दा सडकमा हिलो र पानी जहाँ त्यहीँ भेटिन्छ ।
ठैबका कपडा पसले राजु श्रेष्ठ बिक्री गर्न भनेर आज ल्याएको सामान भोलिपल्ट नै फोहोर हुने गरेको बताउँछन् । ‘ग्राहक सामान लिन नै हिच्किचाउने गरेका छन्,’ उनले भने, ‘यति मात्रै कहाँ हो र ? धुलोले गर्दा जहिल्यै घाँटी दुख्ने गरेको छ ।’
सडकको सकसबारे काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका आयोजना प्रमुख गुरुप्रसाद अधिकारीसँग जिज्ञासा राख्दा सडक बन्न ढिलाइ हुनुमा धेरै बाधा व्यवधान रहेका बताए । ‘सम्बन्धित निकायले कहिले पोल सार्नमा ढिलाइ गर्ने, कहिले स्थानीय सरकारले ढल राख्न खाल्डो खन्दा हामीलाई काम गर्न समस्या परेको छ,’ उनले भने, ‘बाडेगाउँमा बाटोमा परेको जग्गाका घरधनीले मुआब्जा लिन नआउँदा मुआब्जा नै फ्रिज हुन गएको छ ।’
आगामी चैत्र–वैशाखसम्म काम सक्ने गरी म्याद थपको लागि मन्त्रालयमा प्रस्ताव पेश गर्ने र थपिएको समयमा कार्यसम्पन्न हुने गरी काम अगाडि बढाइने उनले बताए ।
गोदावरी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको जमघट हुने थलो हो । त्यसमाथि गोदावरीमा विभिन्न परियोजना बनिरहेका छन् । गोदावरीमा ३ हजार जना अट्ने सभाहल बनेको छ, जहाँ विभिन्न अन्तर्राष्ट्रिय सेमिनार हुन सक्छन् तर सडकको दुर्दशाले यी र यस्ता कार्यलाई नराम्रोसँग असर पर्ने स्थानीय बताउँछन् ।