
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले परमादेशबाट आएको सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।
बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने र परमादेशबाट आएको सरकारले नबुझने बताए ।
पार्टी फुटाउनका लागि संसद नै रोकेर अहिलेको सरकार लागिपरेको र यतिबेला ‘समय पाएनौं’ भन्नु लज्जास्पद भएको नेम्वाङले बताए ।
उपनेता नेम्वाङले सभामुख सबैको नेता हुन नसकेको आरोप लगाए । उनले संसद अवरुद्ध राखिराख्ने समेत बताए । नेम्वाङले एमाले संसदीय दलको बैठक राखेर सबै सांसदलाई संयमिति हुन निर्देशन दिएको बताए ।
अदालतका कतिपय निर्णयसँग सहमत नहुँदा–नहुँदै पनि सर्वोच्च अदालतप्रति सम्मान गर्ने बताए । ‘अदालतले गलत कुरालाई टेकेर गलत निर्णय गर्न थालेजस्तो हामीलाई लाग्न थालेको छ,’ नेम्वाङले भने, ‘तर पनि सर्वोच्च अदालतलाई हामी सम्मान गर्छौं ।’
उपनेता नेम्वाङ उदयपुर जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न १ नम्बर प्रदेशमा आएका छन् ।