
संसदमा अवरोध गरेका कारण बजेट समयमा पारित नभएको जस्तो भ्रम सिर्जना गरिएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै तत्कालीन सरकारले ल्याएको बजेट अध्यादेश संसदमा अगाडि बढाउनुपर्नेमा सरकारले बर्खे अधिवेशन अन्त्य गरेर पार्टी विभाजनको खेलमा लागेको आरोप लगाए ।
‘सरकारले प्रतिनिधिसभा बैठक शुरू भएपछि बजेट पारित गर्ने कुरालाई महत्त्व नदिई सत्ता स्वार्थमा अल्मलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको छ । बजेट पारित गर्ने प्रमुख दायित्व रहने बर्खे अधिवेशन, बजेट अध्यादेश अलपत्र पारेर हठात अन्त्य गरियो,’ विज्ञप्तिमा उल्लेख छ, ‘यतिबेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको छ । जबकि प्रतिनिधिसभाको बैठक शुरू भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन । बरु यसबीचमा प्रतिपक्षी दललाई षड्यन्त्रपूर्ण ढंगले विभाजन गर्नका लागि अध्यादेश ल्याउने प्रयोजनका लागि संसद अधिवेशन स्थगित गरियो ।’
आर्थिक वर्ष शुरू भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै आजको वित्तीय संकटको परिस्थिति सिर्जना भएको एमालेको ठहर छ ।
