काठमाडौँ, ३ असार- कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो । निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा पुगेर थाति (होल्ड) मा राखेको छ, आजको कान्तिपुरले खबर छापेको छ ।

‘जुन कम्पनीलाई कामदार पठाउदै थियौ । उसले रमजानपछि मात्रै काम अगाडि बढाउने भनेपछि हामीले श्रमस्वीकृति लिने कार्य होल्डमा राखेका छौं,’ प्रोडुन्सियलका सञ्चालक नारायण पराजुलीले भने, ‘रमजान महिना चलिरहेकोले काम सुस्त छ भन्ने सुचना मात्रै दिइएको छ ।’ रमजान भनिएपनि कतारमा लागेको नाकाबन्दीका कारण धेरै कम्पनी पर्ख र हेरको अवस्थामा छन ।
जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइनसहित ९ देशले कतारसँग कुटनीतिक सम्बन्धबिच्छेद गरेको छ । साउदी, युएई र बहराइनले जल, हवाई र स्थल यातायातसमेत रोकेर कतारलाई नाकाबन्दी गरेको छ ।
नाकाबन्दीपछि कतारमा कामदार पठाउँदै आएका दर्जनौ म्यानपावरको काम केही सुस्ताएको छ । रोजगारदाता कम्पनी विकसित घटनाक्रम हेरेर मात्रै कामदार ल्याउने सोचाईमा पुगेपछि कामदार भर्ना प्रक्रिया सुस्त भएको म्यानपावरको बुझाई छ ।