अफगानिस्तानको तालिबान सरकारमा अन्तःसंघर्ष चर्किएको खबर आइरहेको बेलामा उपप्रधानमन्त्री मुल्ला बारादरलाई बन्धक बनाइएको खबर आएको छ ।
बेलायती पत्रिका द स्पेक्टेटरले तालिबानका सर्वोच्च नेता हैबतुल्ला अखुन्दजादा मरेको खबर पनि दिएको छ । तर यसको आधिकारिक पुष्टि हुन सकेको छैन ।
हक्कानी नेटवर्कसँग सत्ताका लागि संघर्ष भएकोमा तालिबान पराजित भएको पत्रिकाको दाबी छ । पाकिस्तानको गुप्तचर संस्था आईएसआईले पनि हक्कानी नेटवर्कलाई समर्थन गरेको छ ।
अघिल्लो साता काबुलस्थित राष्ट्रपति भवनमा संघर्ष हुँदा बारादर घाइते भएको भनी खबर आएपछि त्यसलाई काट्नका लागि बारादर टीभीमा आएर लिखित बयान पढेका थिए । उनलाई दबाब दिएर जबर्जस्ती बयान पढाइएको कतिपय विश्लेषकले दाबी गरेका थिए ।
तालिबान नेता र हक्कानीहरूबीचको संघर्षका दौरान फर्निचर र तातो चिया राखिएका थर्मस समेत फ्याँकिएको बताइएको थियो ।
झडप हुँदा हक्कानी नेटवर्कका नेता खलील उल रहमान हक्कानी कुर्सीबाट उठेर मुल्ला बारादरलाई कुटपिट गरेको बताइएको छ ।
द स्पेक्टेटरका अनुसार, तालिबानका सर्वोच्च नेताको बारेमा केही थाहा हुन सकेको छैन । हैबतुल्लालाई देखिएको पनि छैन र उसको बारेमा सुनिएको पनि छैन । मुल्ला बारादरलाई उनले प्रधानमन्त्री बनाउन चाहेको भए पनि हक्कानीले त्यसो हुन दिएन ।